पोखरा । आशन्न निर्वाचनका लागि कास्कीमा करिब १८ हजार नयाँ मतदाता थप भएका छन् ।
यसअघिको निर्वाचनमा यहाँ दुई लाख ९४ हजार एक सय ५१ मतदाता रहेकामा आशन्न निर्वाचनका लागि थप १७ हजार आठ सय ४२ जनाले नयाँ मतदाता नामावलीका लागि आवेदन दिएका हुन् ।
जिल्ला निर्वाचन कार्यालयले नयाँ मतदाताका लागि गत असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म आवेदन माग गरेकामा उक्त सङ्ख्याका मतदाताले आवेदन दिएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।
नयाँ मतदाता नामावलीका सम्बन्धमा कार्यालयले थप अध्ययन गरिरहेको उल्लेख गर्दै उनले शीघ्र अन्तिम नामावली प्रकाशन गरिने बताए ।
जिल्लामा निर्वाचनका लागि एक सय ५३ मतदानस्थल तय भइसकेका जानकारी दिँदै सूचना अधिकारी न्यौपानेले यसअघिको निर्वाचनमा एक सय ५० निर्वाचनस्थल रहेका बताए ।
उनका अनुसार अन्तिम मतदाता नामावाली तय भएपछि मात्रै मतदान केन्द्रहरूबारे टुङ्गो लाग्नेछ ।