छड्के शिशु भएकी गर्भवतीको ज्यान जोगायो सेनाको हवाई उद्धारले
जनकबहादुर शाही,
प्रकाशित २०८२ पुष १२ शनिबार
951
Shares
हुम्ला । सर्केगाड गाउँपालिका–७, रोडिकोटकी २१ वर्षीया मनिषा छतयाललाई सुत्केरी बेथा लागेपछि करिब २४ घण्टापछि नेपाली सेनाको स्काईट्रकमार्फत उद्धार गरी सुर्खेतस्थित प्रादेशिक अस्पताल पुर्याइएको छ।
सुत्केरी बेथा लागेपछि उनलाई सर्केगाड स्वास्थ्य चौकीमा ल्याइएको थियो। स्वास्थ्य जाँचका क्रममा बच्चा छड्के रहेको पाइएको र जिल्लामै तत्काल अपरेशन वा विशेष उपचार सम्भव नभएको कारण शनिबार साँझ करिब ५ बजे उनलाई नेपाली सेनाको स्काईट्रकमार्फत उद्धार गरिएको हो।
उद्धारपछि मनिषालाई सुर्खेत प्रादेशिक अस्पतालमा ल्याइएर आवश्यक अपरेशन र थप उपचारका लागि तयारी गरिएकोजिल्ला अस्पताल हुम्लाकी सिनियर अनमी सरिता बोहोराले बताइन् ।
बच्चा छड्के भएकाले शल्यक्रिया आवश्यक थियो। दुर्गम क्षेत्रका महिलाहरूमा यस प्रकारको हवाई उद्धार सेवा अत्यन्त महत्वपूर्ण छ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत यस सेवा मार्फत धेरै गर्भवती र सुत्केरी महिलाको जीवन जोगाइएको छ। मनिषा मात्र होइन, यसअघि पनि नेपाली सेनाको हवाई उद्धार सेवाबाट धरै महिलाको ज्यान बचाइएको अनमी सरिता बोहोराले बताइन् ।
यो सेवा हुम्ला जस्ता दुर्गम जिल्लामा स्वास्थ्य सुविधा कम र सडक/सवारी सहज नहुँदा हवाई उद्धार सेवा जीवनरक्षक साबित भइरहेको छ।
नेपाली सेनाको यस सेवाले महिलाहरू मात्र होइन, नवजात शिशुहरूको जीवन जोगाउन पनि ठूलो भूमिका खेल्दै आएको हुम्लाका स्थानियबासीले बताएका छन् ।