काठमाडौँ । बङ्गलादेशको सबैभन्दा ठूलो इस्लामिक दल जमात–ए–इस्लामीले आगामी निर्वाचनका लागि विद्यार्थीहरूद्वारा गठित नेशनल सिटिजन पार्टी (एनसिपी) सँग सिट बाँडफाँडको सम्झौता गरेको छ।
सन् २०२४ अगस्टमा शेख हसिना सरकार ढाल्न नेतृत्वदायी भूमिका खेलेका विद्यार्थी र कट्टरपन्थी इस्लामिक शक्तिबीचको यो सहकार्यलाई बङ्गलादेशको राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ।
जमातका नेता शफिकुर रहमानले आफ्नो नेतृत्वमा रहेको ८ दलीय गठबन्धनमा एनसिपी र लिबरल डेमोक्र्याटिक पार्टी गरी थप दुई दल थपिएको घोषणा गरे। हसिनाको १५ वर्षे शासनकालमा प्रतिबन्ध र दमनमा परेको जमातले यस पटकको निर्वाचनलाई सत्तामा पुग्ने ठूलो अवसरका रूपमा लिएको छ।
विद्यार्थी नेताहरूमा फुट र असन्तुष्टि यद्यपि, कट्टरपन्थी इस्लामिक दलसँगको यो गठबन्धनले एनसिपी भित्र ठूलो विद्रोह निम्त्याएको छ। पार्टीका कम्तीमा ३० जना सदस्यले पार्टी प्रमुख नाहिद इस्लामलाई पत्र लेख्दै जमातको विचारधारा र लोकतान्त्रिक मूल्य आफूहरूसँग मेल नखाने भन्दै विरोध जनाएका छन्।
यसैक्रममा उम्मेदवारका आकांक्षी तस्नीम जारा र तस्नुवा जाबिनले पार्टीबाट राजीनामा दिएका छन् भने वरिष्ठ नेता सामन्था शर्मिनले इस्लामवादीहरूसँगको गठबन्धनले पार्टीलाई ठूलो घाटा हुने चेतावनी दिएका छन्।
अल्पसंख्यक र सुफी समुदायमा चिन्ता इस्लामवादी शक्तिहरूको बढ्दो प्रभावले बङ्गलादेशका हिन्दू र सुफी मुस्लिम समुदायमा त्रास बढाएको छ। पछिल्लो समय कट्टरपन्थी समूहहरूले महिला फुटबल, संगीत महोत्सव र सांस्कृतिक कार्यक्रमहरूमा प्रतिबन्ध लगाउन दबाब दिइरहेका छन्।
१७ वर्षको निर्वासनपछि स्वदेश फर्किएका तारिक रहमान नेतृत्वको बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) र जमात नेतृत्वको यो नयाँ गठबन्धनबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।