arrow

ट्रम्प–जेलेन्स्की वार्ता: 'निर्णायक मोड' मा शान्ति प्रक्रिया

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १४ सोमबार
volo-trump.jpg

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको जारी युद्ध अन्त्यका लागि भइरहेको शान्ति वार्ता निर्णायक मोडमा पुगेको दाबी गरेका छन्। 

आइतबार फ्लोरिडास्थित आफ्नै निवास मार–ए–लागोमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको महत्वपूर्ण भेटवार्ता सुरु गर्नुअघि ट्रम्पले यो वार्तालाई युद्ध समाप्त गर्ने अन्तिम अवसरका रूपमा चित्रण गरेका हुन्। उनले अहिले शान्ति सम्झौता हुन नसकेमा युद्ध निकै लामो समयसम्म चल्ने र यसले अझै लाखौँ मानिसको ज्यान लिन सक्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरे।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँगको भेटअघि ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग करिब एक घण्टा १५ मिनेट लामो टेलिफोन संवाद गरेका थिए। उक्त संवादलाई अत्यन्तै फलदायी संज्ञा दिँदै ट्रम्पले यसपटक पुटिन र जेलेन्स्की दुवै पक्ष शान्ति सम्झौताका लागि तयार रहेको विश्वास व्यक्त गरे। 

ट्रम्पका अनुसार सम्भावित शान्ति सम्झौताको प्रारम्भिक खाका तयार भइसकेको छ, जसले युक्रेन र रुस दुवै पक्षका साथै विश्व समुदायलाई नै लाभ पुर्याउनेछ। यद्यपि, उनले सम्झौताका लागि कुनै निश्चित समयसीमा भने तोकेका छैनन्।

यस वर्ष मात्र तेस्रो पटक अमेरिका भ्रमणमा आएका जेलेन्स्की र युक्रेनी जनताको साहसको प्रशंसा गर्दै ट्रम्पले युक्रेनी पीडालाई दुर्लभ र हृदयविदारक बताए। 

मार–ए–लागोमा आयोजित उच्चस्तरीय रात्रिभोजमा विदेशमन्त्री मार्को रुबियो र रक्षा मन्त्री पिट हेगसेथ लगायतका ट्रम्पका प्रमुख सल्लाहकारहरूको उपस्थिति थियो। किभमा भएको पछिल्लो रुसी आक्रमणको पृष्ठभूमिमा भएको यो वार्ताले युरोपेली राष्ट्रहरूको सक्रिय संलग्नता र बलियो सुरक्षा सम्झौतामार्फत युद्ध अन्त्य गर्ने लक्ष्य राखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ