arrow

मन्त्री घिसिङलाई दाउन्ने सडक खण्डमा यात्रुको बिचल्लीबारे डा ढुंगेलको ध्यानाकर्षण पत्र

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १६ बुधबार
dr-dwarikanath-dhungel.jpeg

मितिः २०८२ पुस १५ गते

विषयः पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने खण्डमा यात्रुको बिचल्ली—भौतिक पूर्वाधार तथा यातायात मन्त्रीज्यूको ध्यानाकर्षण

मन्त्री कुलमान घिसिङज्यू, 

नमस्कार ।

चारपाङ्ग्रे सवारीसाधन प्रयोग गरी पश्चिमतर्फ यात्रा गर्ने यात्रुहरूका लागि पूर्व–पश्चिम राजमार्गको पश्चिम खण्डमा पर्ने दाउन्ने क्षेत्रको महत्वबारे यहाँ विशेष व्याख्या गरिरहनु आवश्यक ठान्दिनँ। बेला–बेला आउने पहिरो, सडक अवरोध र निर्माण कार्यका कारण त्यहाँ यात्रुहरू बिचल्लीमा पर्ने गरेका समाचारहरू लामो समयदेखि सार्वजनिक हुँदै आएका छन्।

उक्त खण्डमा मर्मतसम्भार तथा निर्माण कार्य शुरू भएको पनि वर्षौं भइसकेको छ। तथापि ती कार्यहरू कछुवाको गतिमा अगाडि बढिरहेको तथ्य पुनःपुनः समाचारमा आइरहेकै छन्। दुःखद कुरा के छ भने, यतिका वर्ष बितिसक्दा पनि त्यहाँको अवस्थाको सार्थक सुधार हुन सकेको छैन, जसका कारण यात्रुहरूले दाउन्नेमा घण्टौँ सास्ती भोग्न बाध्य हुनु परेको छ।

यसको प्रत्यक्ष अनुभव मैले यसै साता पारिवारिक प्रयोजनका लागि दाङ जिल्लाको घोराही जाँदा र फर्किँदा स्वयं भोग्नुपर्‍यो। स्मरणीय छ—अहिले तराई क्षेत्रमा चिसो अत्यधिक छ। यस्तो अवस्थामा शीत र वर्षाका कारण पूर्व–पश्चिम राजमार्गमा यात्रा गर्नु यात्रुहरूका लागि अत्यन्त कष्टकर भइरहेको छ। उदाहरणका लागि, हिजो (२०८२ साल पुस १४ गते) मौसम अत्यन्त चिसो थियो। बुटवल–दाउन्ने खण्डमा ठाउँ–ठाउँमा सडक हिलाम्मे थियो र सावधानी नअपनाए सवारी साधन चिप्लिने अवस्था थियो।

म र मेरो परिवारका केही सदस्य घोराहीबाट लुम्बिनी, भैरहवा, परासी, बर्दघाट हुँदै काठमाडौँ फर्कँदै गर्दा दाउन्ने पुगेपछि ट्रक, बस, कार र मोटरसाइकलहरूको लामो लाइन देखियो। कारणवश केही समयमै जाम खुल्ला भन्ने आशामा दाउन्ने उकालो चढ्यौँ, तर कुनै पनि सवारी अगाडि बढेन। जामको कारण के हो भन्नेबारे न प्रहरीबाट, न त अन्य कुनै निकायबाट स्पष्ट जानकारी दिइयो।

सवारी साधनहरू सडकमा ठेलमठेला अवस्थामा थिए। एकातिर कडा चिसो, अर्कोतिर बाटो कहिले खुल्ने हो भन्ने कुनै टुंगो थिएन। यात्रु र चालक दुवैका अनुहारमा ठिहिरिँदो निराशा प्रस्ट देखिन्थ्यो। हाम्रो अवस्था पनि त्यही थियो।

त्यसै क्रममा केही मोटरसाइकल चालक भाइहरूले यहाँ १०–१२ घण्टा चिसोमा अलपत्र पर्नुहुन्छ कि बुटवल–पाल्पा हुँदै वैकल्पिक बाटो प्रयोग गर्नुहुन्छ ? भनी सल्लाह दिए । उक्त सल्लाहलाई गम्भीरतापूर्वक लिँदै हामी दाउन्नेबाट फर्केर बुटवल हुँदै पाल्पाको वैकल्पिक मार्ग रोज्न बाध्य भयौँ। सो क्रममा बुटवलबाट केही सञ्चारमाध्यमलाई दाउन्नेको अवस्थाबारे जानकारी पनि गरायौँ।

पछि जानकारी पाउँदा दाउन्नेमा एक वा दुई ठूला गाडी पल्टिँदा सडक पूर्णरूपमा अवरुद्ध भएको रहेछ। ती गाडी समयमै हटाउन नसकिँदा पूर्वबाट पश्चिमतर्फ करिब ३ किलोमिटर र पश्चिमबाट पूर्वतर्फ पनि करिब ३ किलोमिटर लामो जाम लागेको थियो। त्यस जाममा सयौँ सवारी साधन र हजारौँ यात्रु चिसोमा कठ्याङ्ग्रिएर घण्टौँ अलपत्र परेछन्।

सुनेअनुसार उक्त जाम २४ घण्टा बितिसक्दा पनि पूर्ण रूपमा खुल्न सकेको थिएन। यस अवस्थाले कति बालबालिका, वृद्धवृद्धा र बिरामीले कति कष्ट पाए होलान्—यसको कल्पना गर्न पनि कठिन छ, मन्त्रीज्यू ।

यस्तो अवस्थामा प्रश्न उठ्छ—बाटो अवरुद्ध भएको छ भन्ने जानकारी समयमै दिँदै वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरी, एफएम रेडियो वा स्वयं दाउन्ने सडक आयोजनाले किन सूचना प्रवाह गर्न सकेन ? यात्रुको सुविधाको जिम्मेवारी सडक विभाग तथा सम्बन्धित सडक डिभिजनको होइन र, मन्त्रीज्यू ? दाउन्नेमा मर्मत तथा निर्माण कार्य चलिरहँदा सडक बन्द गरेर सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न स्पष्ट निर्देशन किन नदिइएको ?

हाम्राकुरा डट कम लगायतका सञ्चारमाध्यमले दाउन्नेमा यात्रुले भोग्नुपरेको पीडा सार्वजनिक गरेपछि प्रहरीको तर्फबाट वैकल्पिक मार्गबारे केही भनिएको छैन भन्ने अभिव्यक्ति आएको समाचार पढ्दा झन् दुःख लाग्यो। के यसरी जिम्मेवारीबाट पन्छिन मिल्छ ? झण्डै २४ घण्टासम्म हजारौँ यात्रु चिसोमा पीडित भइसकेपछि मात्रै आज सडक विभागले वैकल्पिक मार्ग प्रयोग गर्न सूचना जारी गरेको सुनियो। यस्तो सूचना समयमै, एफएम रेडियो वा प्रहरीमार्फत किन जारी गरिएन, मन्त्रीज्यू ?

यदि जाममा फसेका यात्रुमध्ये कोही बिरामी परेका भए, उनीहरूको उपचारको जिम्मा कसले लिने ? हामी स्वयं हिजो बिहान ६.३० बजे घोराहीबाट हिँडेर वैकल्पिक मार्ग हुँदै रातभर चिसो सहँदै आज बिहान ५ बजे मात्र काठमाडौँ आइपुग्यौँ। बाटोमा सयौँ बसहरू मुग्लिनतर्फ गइरहेको देख्यौँ। तीमध्ये कति दाउन्नेको जाममा फसे होलान्, ती बसका यात्रुले कति चिसो र कष्ट भोगे होलान्—अनुमान गर्न सकिन्छ।

दाउन्ने खण्ड मात्र होइन, मुग्लिन–धार्के खण्डको अवस्था पनि उस्तै दयनीय छ। के निर्माण व्यवस्थापन विषय अध्ययन गरेका विज्ञहरूको सल्लाह र सुझाव लिएर यी निर्माण कार्यलाई तीव्रता दिन वर्तमान सरकारले सक्दैन ? ‘जेनेरेसन–जेड’ को आन्दोलनपछि बनेको सरकारबाट जनताले यत्ति त अपेक्षा गर्न पाउने होइन र ?

यस गम्भीर विषयतर्फ तपाईंको शीघ्र ध्यान जाने छ भन्ने अपेक्षासहित 
भवदीय,
डा द्वारिकानाथ ढुंगेल 
बानेश्वर, काठमाडौँ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ