महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकामा एकीकृत घुम्ती सेवा शिविर प्रभावकारी बनेको छ। मटिहानीले पछिल्ला तीन वर्षदेखि बर्सेनि एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्दै आएको छ ।
यसवर्ष यही पुस ८ देखि १६ गतेसम्म नौ दिन सञ्चालित शिविरमा करिब आठ हजारले घरआँगनमै सेवा लिएको नगरपालिकाले जनाएको छ । शिविरमा नगरपालिकाबाट प्राप्त सेवा एकीकृत रुपमा प्रदान गरिएको नगरप्रमुख हरिप्रसाद मण्डलले बताए ।
“यसपालि शिविरका बेला प्रतिकूल मौसम शीतलहर रह्यो, त्यही पनि सात हजार नौ सय नौ जनाले सेवा लिएका छन्” नगरप्रमुख मण्डलले भने, “आम नागरिकलाई कार्यालयबाट दिइने सेवाप्रति नयाँ आशा जगाउन यो प्रभावकारी भएको छ ।”
यसले जनप्रतिनिधि, कर्मचारी र जनताबीच सम्बन्ध सुमधुर बनाएको उनको भनाइ छ ।
शिविरमा सबैभन्दा बढी पशुपालक किसानले सेवा लिएका छन् । दुई हजार आठ सय ४९ घरपालुवा पशुको स्वास्थ्य जाँच र उपचार गरिएको छ । त्यसैगरी दुई हजार तीन सय एक किसानले तरकारीको बीउबिजन लिएका छन् । मटिहानी नगरक्षेत्र जिल्लामै तरकारी खेतीको पकेटक्षेत्र मानिन्छ ।
एक हजार छ सय ३२ जनाले स्वास्थ्यचौकीबाट स्वास्थ्य जाँच र उपचार सेवा लिएका छन् । आयुर्वेद कार्यालयबाट आठ सय ७१ जनाले स्वास्थ्य जाँच गरी आयुर्वेद औषधि लिएका छन् ।
एक सय छ ज्येष्ठ नागरिकले ज्येष्ठ नागरिक परिचयपत्र बनाएको र ८८ जना ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा गरिएको छ ।
६२ ओटा व्यक्तिगत घटना दर्ता र तीन जना अपाङ्गता भएकाको परिचयपत्र बनेको कार्यालयले जनाएको छ । रासस