तनहुँ । पदमार्गले तनहुँका दुई पालिकाका घरबास (होमस्टे) जोडिएका छन् । अधिक घरबास भएका जिल्लाका व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाका घरबासलाई पदमार्गले जोडिएका हुन् ।
जिल्लाका यी दुई पालिकामा अधिक घरबास रहेका छन् । पदमार्गले घरबासलाई एकापसमा जोड्नाका साथै आन्तरिक तथा बाह्य पर्यटकको बसाइ लम्ब्याउन सहयोग पुर्याउने उद्देश्यले पदमार्गको नक्साङ्कन तयार पारिएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत पुरानो बजार डुम्रेबाट आठ किलोमिटर दूरीमा पहाडकी रानी उपमाले परिचित बन्दीपुर पर्दछ । यहाँ पुगेपछि घरबासमा बस्न रुचाउने पर्यटकका लागि पदमार्गले जोडेर सहज बनाउने तयारीका साथ पदमार्गको नक्साङ्कन गरी प्रवद्र्धनको अन्तिम चरणमा रहेको सम्पदा नेपालका अध्यक्ष एवं पर्यटनविद् हरिसिं गुरुङले जानकारी दिए ।
यात्रा तनहुँको हालको वा अघिल्लो जिल्ला सदरमुकाम (दमौली वा बन्दीपुर) बाट शुरू हुने उनले बताए । समुद्री सतहबाट करिब ५०० देखि एक हजार २०० मिटर उचाइसम्मको फरकमा घरबासलाई पदमार्गले समेटिएको गुरुङले बताए ।
“हालका लागि व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाका होमस्टेलाई जोड्ने गरी पदमार्गको नक्साङ्कन भएको छ”, उनले भने, “विभिन्न स्थानमा नक्सा टाँसेर प्रचारप्रसार गर्ने तयारीमा छौँ ।”
पदमार्गमार्फत ७५ किलोमिटरको दूरीभित्रका १४ होमस्टेको अनुभव लिन सकिने गरी पदमार्ग तयार भएको अध्यक्ष गुरुङले बताए ।
“उक्त दूरीभित्र सर्किटमा परेका ग्रामीण बस्तीलाई मूर्त र अमूर्त सांस्कृतिक सम्पदाले भरिपूर्ण हुने गरी जीवन्त सांस्कृतिक सङ्ग्रहालयका रुपमा विकास गर्ने लक्ष्य लिइएको छ”, उनले भने, “यस पदमार्गमा पर्ने होमस्टे गाउँलाई जीवन्त सांस्कृतिक सङ्ग्रहालय नै बनाउन प्रोत्साहन गर्नेछौँ ।”
करिब ७५ किलोमिटर दूरीभित्रका होमस्टेलाई जोड्ने नेपालको पहिलो होमस्टे सर्किट देशको बीच भागमा बनाउने तयारी भएको उनको भनाइ छ । गुरुङले भने, “सर्किटका मुख्य आकर्षणका रुपमा १४ होमस्टेको अनुभव लिन सकिनेछ, यहाँबाट देखिन धौलागिरि, अन्नपूर्ण, लाङटाङ लगायतका हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिनेछ ।”
यसका साथै स्थानीय मेला र चाडपर्वका साथै कृषि गतिविधिमा भाग लिने अवसर प्राप्त गर्न सकिने र अधिकांश समुदायका परम्परागत कृषि गाउँमा पुग्न सकिनेछ । स्थानीयको जीवनयापन, अनुभवको मैत्रीपूर्ण अन्तरक्रिया गर्न मद्दत पुग्नेछ । ग्रामीण क्षेत्रवासीको न्यानो आतिथ्यता, जैविक रुपमा उत्पादित खाना, पेयपदार्थ र सांस्कृतिक कार्यक्रमको साथ विशिष्ट नेपाली पहाडी झुपडी तथा कटेजमा होमस्टेको अनुभूति गर्न पाइनेछ ।
ग्रामीण बस्तीको अन्वेषण र सुन्तला, स्थानीय मौसमी फलफूल तथा वनका उत्पादन टिपेर आनन्द लिन सकिनेछ । यस पदमार्गको माध्यमबाट नेपाली ग्रामीण जीवनलाई नजिकबाट चिन्न र अनुभव गर्न सकिनेछ । रिजल्यान्ड पदयात्रा र माउन्टेन बाइकिङको पनि प्रवर्द्धन गर्न सकिने गुरुङको भनाइ छ । चौध घरबासमा पुग्नका लागि यात्रा तनहुँको हालको वा अघिल्लो जिल्ला सदरमुकाम (दमौली वा बन्दीपुर) बाट सुरु सकिनेछ ।
यस पदमार्गमा मगर, गुरुङ, नेवार, क्षेत्री, ब्राह्मण, भुजेल, तामाङ र दलित समुदायको बासोबास रहेकाले यी समुदायका जीवनशैली, संस्कार, संस्कृतिको अनुभव गर्न सकिनेछ ।
बन्दीपुर, पाहुना र विन्दवासिनी सामुदायिक घरबासमा एकै साथ १५० जनासम्म राख्न सकिने जनाइएको छ ।
यस होमस्टे सर्किटमा झारगाउँ, कन्यादेवी मन्दिर, मणिमुकुन्देश्वरी मन्दिर, बन्दीपुर बजार लगायतका धार्मिक तथा सांस्कृतिक र पर्यटकीय ग्रामीण बस्तीको अनुभव लिन सकिनेछ । रासस