arrow

कुन्ती पोखरेलले काठमाडौँ–२ बाट उम्मेदवारी दिने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १९ शनिबार
kunti-pokhrels-.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ती पोखरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने घोषणा गरेकी छन्। उनले यस क्षेत्रको समग्र विकास र स्थानीयका समस्यालाई संसदमा बुलन्द गर्न आफूले उम्मेदवारी दिन लागेको बताइन्।

काठमाडौँ–२ बाट निर्वाचित प्रतिनिधिहरू विगतमा राष्ट्रपति र प्रधानमन्त्री जस्ता राज्यका सर्वोच्च पदहरूमा पुगेको भए पनि यस क्षेत्रको अपेक्षित विकास हुन नसकेको पोखरेलको आरोप छ। उनले भनिन्, "प्रधानमन्त्री र राष्ट्रपति यही क्षेत्रले पायो, तर यहाँका बासिन्दाले अझै पनि खानेपानी र सडकको आधारभूत समस्या झेल्नु परिरहेको छ।" निर्वाचित प्रतिनिधिहरूले संसदमा स्थानीय समस्यालाई प्रभावकारी रूपमा उठाउन नसक्दा विकासमा यो क्षेत्र पछि परेको उनको तर्क छ।

आफ्ना मुख्य चुनावी एजेण्डाहरूबारे प्रष्ट पार्दै पोखरेलले खानेपानी र सडकको समस्या समाधानलाई प्राथमिकतामा राखेकी छन्। विशेषगरी साँखु क्षेत्रमा एम्बुलेन्स समेत जान नसक्ने बाटोको अवस्था सुधार्ने, शिक्षा र स्वास्थ्य सेवालाई निःशुल्क बनाउन पहल गर्ने तथा सानो आम्दानीका लागि युवाहरू विदेशिनु पर्ने बाध्यताको अन्त्य गरी स्वदेशमै रोजगारी सिर्जना गर्ने उनको प्रतिबद्धता छ। 

महिलाहरूलाई उद्यमशील बनाउन सीपमूलक तालिम सञ्चालन गर्दै आएको उल्लेख गर्दै उनले गत निर्वाचनमा पराजित भए पनि आफू निरन्तर नागरिकको सेवामा रहेको दाबी गरिन्। यसपटकको निर्वाचनमा भूगोल बाहिरका उम्मेदवार भन्दा पनि स्थानीय समस्या बुझेको प्रतिनिधिलाई जनताले रोज्नुपर्नेमा उनले जोड दिइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ