कांग्रेस चोइटिन दिँदैनौँ, सबैलाई समेटेर मूलधारमा ल्याउँछौँ: धनराज गुरुङ
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १९ शनिबार
2.2k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीलाई कुनै पनि हालतमा चोइटिन वा टुक्रिन नदिने दृढता व्यक्त गरेका छन्। शनिबार कांग्रेस नेता डा. शेखर कोईराला पक्षधर नेताहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीभित्रको आन्तरिक विवादलाई घरभित्रको झगडासँग तुलना गर्दै एकतामा जोड दिए।
उपसभापति गुरुङले फरक मत राख्ने नेताहरूलाई पनि समेटेर पार्टीको मूलधारमा ल्याउनु आफूहरूको प्राथमिकता रहेको बताए। उनले अहिलेको अवस्थामा कसले कसलाई साथ दियो वा दिएन भन्ने कुरा गौण भएको उल्लेख गर्दै सिंगो पार्टीको सबलीकरण र एकता नै मुख्य विषय भएको स्पष्ट पारे। "परिवारमा दिनदिनै झगडा गर्यो भने त्यो परिवार बलियो हुन्छ कि कमजोर? पार्टी पनि एउटा परिवार हो, यसभित्र धेरै झगडा गर्नुहुन्न," उनले भने।
पार्टीभित्र धेरै विवाद सिर्जना हुँदा त्यसको प्रत्यक्ष फाइदा अरुलाई पुग्ने र संगठन कमजोर बन्ने भन्दै उनले सबै नेता तथा कार्यकर्तालाई एकजुट हुन आग्रह गरे। पछिल्लो समय महामन्त्रीद्वयले अघि सारेको विशेष महाधिवेशनको प्रसङ्गमा उनले पार्टी कहाँ पुग्छ र कसरी बलियो हुन्छ भन्ने कुरालाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिए।