काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले अमेरिकाले भेनेजुएलामा सैन्य हस्तक्षेप गरी राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेको घटनाप्रति कडा आपत्ति जनाएको छ।
मंगलबार समाजकी सभापति रेनुका पौडेलले एक विज्ञप्ति जारी गर्दै अमेरिकी कदमलाई अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्र सङ्घको बडापत्र विरुद्धको कार्य भएको उल्लेख गरेकी छन्।
विज्ञप्तिमा मदुरोलाई तानाशाहको संज्ञा दिँदै उनी कुनै आदर्श नेता नभएको र गम्भीर मानव अधिकार उल्लङ्घनका लागि जिम्मेवार रहेको उल्लेख गरिएको छ। मदुरोप्रति मानव अधिकार समुदायको असहमति यथावत रहे पनि उनलाई पक्राउ गर्ने नाममा अमेरिकाले अपनाएको शैली र ठाडो हस्तक्षेप भेनेजुएलाको सार्वभौमसत्ता माथिको प्रहार भएको समाजले ठहर गरेको छ।
समाजले यो कदमले विश्वमा गलत नजिर स्थापना गरेको र यसले थप अशान्ति निम्त्याउन सक्ने चेतावनी दिँदै घटनाको निन्दा गरेको छ।