सिमकोट बजारमा बस्तीमै पेट्रोलियम पदार्थको भण्डारण तथा बिक्री–वितरण
जनकबहादुर शाही,
प्रकाशित २०८२ पुष २२ मंगलबार
821
Shares
हुम्ला । हुम्ला सदरमुकाम सिमकोट बजारमा पेट्रोलियम पदार्थको भण्डारण तथा बिक्री–वितरणको अवस्थाबारे गरिएको संयुक्त बजार अनुगमनलाई स्थानीयले ढिलै भए पनि सकारात्मक कदमका रूपमा लिएका छन्।
जिल्लामा पछिल्लो समय लगातार देखिएका आगलागीका घटनाले जनधनको ठूलो जोखिम बढाउँदै लगेपछि सरकारी संयन्त्र अन्ततः सक्रिय बनेको स्थानीयको प्रतिक्रिया छ।
साँघुरा गल्ली, काठका घर र घना बस्तीले भरिएको सिमकोट बजारभित्र पेट्रोल, डिजेल, मट्टीतेल र ग्यासजस्ता अत्यन्तै ज्वलनशील पदार्थको भण्डारण तथा बिक्री हुँदै आएको छ। सानो असावधानीले समेत ठूलो विपत्तिमा रूपान्तरण हुन सक्ने अवस्था रहेको भन्दै स्थानीय बासिन्दाले लामो समयदेखि चिन्ता व्यक्त गर्दै आएका छन। एक पटक आगो लाग्यो भने भाग्ने ठाउँ नै छैन, स्थानीयको साझा चिन्ता हो।
यही जोखिमलाई मध्यनजर गर्दै उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, हुम्लाको आयोजनामा सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दको संयोजकत्वमा संयुक्त बजार अनुगमन गरिएको हो।
अनुगमनका क्रममा धेरै पसलमा आगलागी नियन्त्रणका प्राथमिक उपकरणको अभाव, सुरक्षित भण्डारण मापदण्डको कमजोर पालना तथा अनुमति बिना ज्वलनशील पदार्थ भण्डारण गरिएको अवस्था भेटिएको जनाइएको छ। यसले बजारभित्रको जोखिम कति गम्भीर छ भन्ने यथार्थ उजागर गरेको छ।
स्थानीय व्यवसायीहरू भने अनुगमनलाई स्वागत गरे पनि यसको निरन्तरतामा प्रश्न उठाउँछन्। आज अनुगमन हुन्छ, भोलि सबै कुरा बिर्सिने त होइन? एक व्यवसायीको प्रतिक्रिया छ । घर वरिपरि ग्यास र पेट्रोल राखिएको हुँदा सधैं त्रासमा बाँचिरहेका छौं। दुर्घटना भयो भने बच्ने उपाय छैन स्थानिय ब्यबसायी सरोज रावतले भने।
स्थानीय प्रशासनले भने आगलागी जोखिमलाई गम्भीर रूपमा लिएको दाबी गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दले बजार सुरक्षा, जोखिम व्यवस्थापन र अनुशासन स्थानीय प्रशासनको प्राथमिक एजेन्डा रहेको बताउँदै मापदण्ड विपरीत कार्य गर्ने जो–कोहीलाई कानुनी कारबाही गरिने स्पष्ट पारे। कानून सबैका लागि बराबर हो, जोखिमपूर्ण कारोबारमा कुनै सम्झौता हुँदैन, उनले भने।
तर स्थानीय राजनीतिक र सामाजिक वृत्तमा प्रशासनको भनाइ मात्र पर्याप्त नभई दीर्घकालीन योजना आवश्यक रहेको आवाज पनि उठिरहेको छ। आगलागी नियन्त्रणका लागि स्थायी फायर सेफ्टी योजना, नियमित अनुगमन, व्यवसायीलाई तालिम र स्थानीय तहसँग समन्वयको अभावले जोखिम झनै बढाएको स्थानियबासीहरूको विश्लेषण छ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, हुम्लाका प्रमुख अर्जुनराज जोशीले अनुगमनलाई व्यवहार परिवर्तनसँग जोड्नुपर्नेमा जोड दिए। अनुगमन कागजी प्रक्रियामा सीमित भयो भने जोखिम घट्दैन। सचेतना, क्षमता अभिवृद्धि र जिम्मेवारीबोध आवश्यक छ, उनले बताए।
स्थानीयको अपेक्षा स्पष्ट छ अनुगमन केवल औपचारिकतामा सीमित नहोस्। आगलागी जोखिम न्यूनीकरणका लागि कडाइका साथ मापदण्ड कार्यान्वयन, प्रशासन र व्यवसायीको जवाफदेहिता तथा नागरिकको सजगताले मात्र सिमकोट बजारलाई सम्भावित ठूलो दुर्घटनाबाट जोगाउन सक्छ। आजको चेतावनीलाई बेवास्ता गरियो भने भोलिको मूल्य निकै महँगो पर्न सक्ने स्थानीयले गम्भीर चिन्ता गरेका छन्।