बैंकिङ प्रणालीमा अधिक तरलता: निक्षेप र कर्जाको ब्याजदरमा उल्लेख्य गिरावट
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २३ बुधबार
605
Shares
काठमाडौँ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार नेपालको बैंकिङ क्षेत्रमा निक्षेपको मात्रा बढ्दै जाँदा कर्जाको ब्याजदरमा उल्लेख्य गिरावट आएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिक मसान्तसम्मको तथ्याङ्कले वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको र ब्याजदर सस्तो हुँदै गएको देखाउँछ।
२०८२ असार मसान्तको तुलनामा कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ३.१ प्रतिशतले वृद्धि भई ७४ खर्ब ८६ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। वार्षिक बिन्दुगत आधारमा हेर्दा निक्षेपमा १३.४ प्रतिशतको बलियो वृद्धि देखिएको छ भने अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धि २.३ प्रतिशत मात्र रहेको थियो।
कर्जा प्रवाहको क्षेत्रमा पनि सामान्य सुधार देखिएको छ। २०८२ कात्तिक मसान्तमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा असार मसान्तको तुलनामा १.२ प्रतिशतले बढेर ५५ खर्ब ६२ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ। कुल कर्जामध्ये उपभोगमा आधारित ऋणको हिस्सा सबैभन्दा बढी २०.८ प्रतिशत रहेको छ भने स्थानीय तहमा सबैभन्दा कम ऋण प्रवाह भएको देखिन्छ। ब्याजदरको तुलनात्मक अध्ययन गर्दा २०८१ कात्तिकमा वाणिज्य बैंकको निक्षेप र कर्जाको भारित औसत ब्याजदर क्रमशः ५.१ प्रतिशत र ९.७ प्रतिशत रहेकोमा २०८२ कात्तिकमा ती दरहरू घटेर क्रमशः ३.७४ प्रतिशत र ७.३८ प्रतिशतमा झरेका छन्।
देशभरको वित्तीय पहुँचको कुरा गर्दा हाल १०७ वटा बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन्, जसमा २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त र १ पूर्वाधार विकास बैंक समावेश छन्। सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगिसकेका छन् भने एटीएम बुथको सङ्ख्या बढेर ५,२६८ पुगेको छ। यद्यपि, बैंकिङ क्षेत्रका लागि निष्क्रिय कर्जा बढ्नु मुख्य चुनौती बनेको छ। २०८१ कात्तिकमा ४.४२ प्रतिशत रहेको निष्क्रिय कर्जा अहिले बढेर ५.२६ प्रतिशत पुगेको छ भने विपन्न क्षेत्रतर्फको कर्जा लगानी ६.१७ प्रतिशतबाट घटेर ५.३६ प्रतिशतमा खुम्चिएको छ।