arrow

मधेसी र मुस्लिम आयोगसँग साम्प्रदायिक सहिष्णुताबारे गृहमन्त्रीको छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २३ बुधबार
om-aryals.jpg

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले तराई-मधेसका केही जिल्लाहरूमा देखिएका पछिल्ला साम्प्रदायिक असहिष्णुताका घटनालाई लिएर गम्भीर चासो देखाउँदै ललितपुरस्थित मधेसी र मुस्लिम आयोगका पदाधिकारीहरूसँग विशेष छलफल गरेका छन्। बुधबार जावलाखेलस्थित मुस्लिम आयोग र ज्वागलस्थित मधेसी आयोगको कार्यालयमै पुगेर उनले कार्यवाहक अध्यक्षद्वय महमदिन अलि र जीवछ साहसँग समसामयिक सुरक्षा चुनौती र सामाजिक सद्भावका विषयमा विचार-विमर्श गरे। गृहमन्त्रीको सचिवालयका अनुसार भेटका क्रममा मन्त्री अर्यालले संवैधानिक निकायहरूको काम, कर्तव्य, अधिकार र आयोगहरूले भोगिरहेका समस्याका साथै सरकारबाट उनीहरूले राखेका अपेक्षाहरूका बारेमा समेत विस्तृत जानकारी लिएका थिए।

भेटघाटका क्रममा मन्त्री अर्यालले धार्मिक सम्प्रदायबीच आपसी सद्भाव कायम राख्न मधेसी, थारु र मुस्लिम आयोगले संयुक्त रूपमा जारी गरेको अपीलको खुलेर प्रशंसा गर्दै नागरिक समाजका रूपमा रहेका यस्ता आयोगहरूको सक्रियताले नै समस्याहरू समाधान उन्मुख भएको उल्लेख गरे। उनले समाजमा शान्ति तथा सद्भाव कायम राख्न सबैको सकारात्मक भूमिकाको अपेक्षा गर्दै धार्मिक तथा सामाजिक सहिष्णुता खल्बल्याउन खोज्ने जोसुकैलाई पनि कानुन बमोजिम कडा कारबाही हुने चेतावनी दिए। साथै, उनले विवेकको संरक्षकका रूपमा रहेका आयोगहरूले जनचेतना फैलाउने खालका दीर्घकालीन प्रभाव राख्ने कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।

सामाजिक सद्भाव कायम राख्न गृह मन्त्रालयले देखाएको सक्रियता र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई जारी गरेको विशेष सर्कुलरको आयोगका पदाधिकारीहरूले स्वागत गरेका छन्। गृहले अवैध गतिविधिमा संलग्नलाई कारबाही गर्ने, सरोकारवालासँग समन्वय बैठक बस्ने, सद्भाव र्‍याली निकाल्ने र शान्ति तथा सामाजिक सद्भाव समिति गठन गर्ने जस्ता निर्देशनहरू कार्यान्वयनमा ल्याएको छ। छलफलको क्रममा मधेसी आयोगका कार्यवाहक अध्यक्ष जीवछ साहले आयोग कुनै धर्म विशेषको नभई समग्र समुदायको भएको स्पष्ट पारे भने मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलिले समाजमा धार्मिक सद्भाव कायम गर्न आयोग सधैँ प्रतिबद्ध रहने जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ