काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशबाट 'अन्य' समूहतर्फ नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार अन्य समूहमा थापाको मात्र एकल उम्मेदवारी दर्ता भएपछि उनी निर्विरोध चुनिएका हुन्।
थापाले बुधबार मनोनयन दर्ता गराएकोमा सो पदका लागि अन्य कुनै पनि दल वा स्वतन्त्र उम्मेदवारको दाबी नपरेपछि निर्वाचन अधिकृतको कार्यालयले उनलाई निर्विरोध भएको जानकारी दिएको छ।
कोशी प्रदेशमा रिक्त रहेका अन्य, दलित र महिला गरी तीनवटा सिटका लागि निर्वाचन प्रक्रिया सुरु भएको हो। अन्य समूहमा थापा निर्विरोध भए पनि दलित र महिला समूहका दुई सिटका लागि भने प्रतिस्पर्धा हुने देखिएको छ।
यी दुई समूहका दुई स्थानका लागि कुल चार जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ। दलित र महिला समूहतर्फ नेपाली कांग्रेस र नेकपा (एमाले) को गठबन्धनबाट सोम पोर्तेल र रोश्नी मेचेले मनोनयनपत्र दर्ता गराएका छन्।
यसैगरी, विपक्षी दलका रूपमा रहेको नेपाली कम्युनिष्ट पार्टीले पनि दलित र महिला समूहतर्फ आफ्ना उम्मेदवारहरू उठाएको छ। सो पार्टीका तर्फबाट दलित कोटामा खेमराज सुन्दास र महिला कोटामा नमिता न्यौपानेले मनोनयन दर्ता गरेका छन्। अन्य समूहमा सुनिलबहादुर थापा निर्विरोध भइसकेकाले अब माघ ११ गते कोशी प्रदेशमा बाँकी दुई पदका लागि मात्र मतदान हुनेछ। मनोनयन दर्तासँगै कोशी प्रदेशमा चुनावी सरगर्मी बढेको छ भने प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरू मतदानको तयारीमा जुटेका छन्।