arrow

बङ्गलादेशमा निर्वाचनअघि रक्तपात: बीएनपी नेता मुसब्बिरको गोली हानी हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २४ बिहिबार
bangladesh-map-dhaka.png

काठमाडौँ । बङ्गलादेशमा आगामी फेब्रुअरी १२ मा हुने राष्ट्रिय निर्वाचनको सरगर्मी बढिरहेका बेला राजनीतिक हिंसाले उग्र रूप लिएको छ। बुधबार राति राजधानी ढाकाको व्यस्त व्यापारिक क्षेत्रमा अज्ञात बन्दुकधारीले गोली चलाउँदा विपक्षी दल बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का प्रभावशाली नेता अजिजुर रहमान मुसब्बिरको मृत्यु भएको छ।

घटनाको विवरण स्थानीय मिडियाका अनुसार ढाका सिटी नर्थ स्वेच्छासेबक दलका पूर्व महासचिव मुसब्बिर र कारवान बजार भ्यान एसोसिएसनका महासचिव अबु सुफियान मसूद एउटा कार्यक्रमबाट फर्कँदै गर्दा आक्रमणमा परेका हुन्। रातको ८:४० बजे बसुन्धरा मार्केट पछाडि स्टार कबाब नजिकैको गल्लीमा मोटरसाइकलमा आएका दुई जना आक्रमणकारीले उनीहरूमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए।

गोली लागेर गम्भीर घाइते भएका मुसब्बिरलाई उपचारका लागि बीआरबी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। अर्का घाइते मसूदको ढाका मेडिकल कलेजमा उपचार भइरहेको तेजगाउँ डिभिजनका अतिरिक्त प्रहरी उपायुक्त (एडीसी) फजलुल करिमले पुष्टि गरेका छन्।

बढ्दो तनाव र विरोध हत्याको खबर सार्वजनिक भएलगत्तै बीएनपीका कार्यकर्ताहरूले ढाकाको सोनागाउँ चौराहा नजिकै विरोध प्रदर्शन सुरु गरेका छन्। निर्वाचन नजिकिँदै गर्दा विपक्षी नेताहरूलाई निशाना बनाइनुले बङ्गलादेशको शान्ति सुरक्षाको अवस्थामा गम्भीर प्रश्न उठाएको छ। पछिल्लो समय देशभरि नै राजनीतिक दलहरूबीच झडप र हिंसाका घटनाहरू बढ्दै गएका छन्, जसले फेब्रुअरीको निर्वाचनलाई थप अन्योल र त्रासपूर्ण बनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ