दलको फेरो समात्ने मन्त्रीले कहिले छोड्लान् मन्त्रालय ? गृहमन्त्री भन्छन् – कुनै दलप्रति ढल्कने छुट छैन
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २५ शुक्रबार
723
Shares
तस्बिर : फाइल
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरुलाई कुनै दलप्रति ढल्कने छुट नभएको बताएका छन् । गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजना भइरहेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले वर्तमान सरकारको ‘म्यान्डेट’ तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु रहेको बताए ।
सरकार निर्वाचनमा होमिइसकेकाले तोकिएको मितिमा नै निर्वाचन हुनेमा शङ्का नगर्न सम्बन्धित सबै पक्षलाई उनले आग्रह गरे । जेन–जी आन्दोलन सुशासन कायमका लागि भएको उल्लेख गर्दै मन्त्री अर्यालले सुशासन कायम राख्न सरकार कटिबद्ध भएको बताए ।
तोकिएको मितिमा निर्वाचन नभएमा देशले सङ्कट सामना गर्नुपर्ने अवस्था आउन सक्ने बताउँदै मन्त्री अर्यालले सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने र सरकारले गरिरहेका काम सम्बन्धमा हौसला प्रदान गरी सरकारको मनोबल बढाइदिन सम्बन्धित सबैपक्षलाई आग्रह गरे ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकारमा रहेका मन्त्रीहरुका गतिविधिले निर्वाचनको वातावरण बिगार्नसक्नेतर्फ सचेत गराउँदै स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायलाई साधनस्रोत सम्पन्न बनाउनुपर्ने विषयमा जोड दिए ।
कृतिम बौद्धिकता, इन्टरनेटलगायतको प्रयोगबाट हुनसक्ने भ्रामक समाचार सम्प्रेषण र आसन्न निर्वाचनमा तिनको असरबारे सचेत रहन गृह मन्त्रालय र सुरक्षा निकायलाई उनले सचेत गराए ।
कहिले छाड्छन् दलको फेरो तमात्ने मन्त्रीले सरकार ?
गृहमन्त्रीले कडा भनाइ व्यक्त गरे पनि सरकारमै रहेका विभिन्न मन्त्रीहरुको गतिविधि भने शंकास्पद देखिएको छ । जेन–जीले बनाएको सरकार भए पनि केही मन्त्रीहरुले दलकै भजन गाइरहेका छन् । यसको विरोध पनि भएको छ ।
यसैबीच ऊर्जा मन्त्री कुलमान घिसिङले चर्को विरोधपछि राजीनामा दिए । उनी राष्ट्रिय स्वतन्त्र पार्टीको उपाध्यक्ष भएर उज्यालो नेपाल पार्टी समाहित गरे पनि अन्तिमसम्म आफू कुनै दलमा नभएको झुटो बोलिरहे ।
प्रधानमन्त्री सुशीला कार्कीले नै कुलमानलाई राजीनामा दिनभन्दासमेत अटेर गरिरहे । तर बाध्य भएर उनले बुधबार भने राजीनामा दिनुपर्यो ।
खेलकुद मन्त्री बब्लु गुप्ताको गतिविधि पनि शंकास्पद देखिएको छ । उनी पनि रास्वपामै ढल्केका छन् । त्यस्तै संचारमन्त्री जगदीश खरेलमाथिसमेत शंका गर्नेहरु धेरै छन् । उनले भने तत्काल चुनावमा उठ्ने कुनै सोच नभएको बताएका छन् ।
प्रधानमन्त्री कार्कीले कोही भए छाड्न निर्देशनसमेत दिएकी छिन् । उनले कुलमानको भर नभएको र अन्यले भने चुनावमा भाग नलिने दाबी गरेकी थिइन् ।