राष्ट्र निर्माताको योगदान र 'दिव्योपदेश' को सान्दर्भिकता स्मरण
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २७ आइतबार
766
Shares
काठमाडौँ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। विसं १७७९ मा जन्मिएका शाहले छरिएर रहेका बाइसे र चौबीसे राज्यहरूलाई एकीकृत गरी सबल राष्ट्र निर्माणमा पुर्याएको योगदानको आज विशेष स्मरण गरिँदैछ।
दिवसका अवसरमा आज सिंहदरबारको पश्चिम ढोका अगाडि रहेको शाहको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गर्ने कार्यक्रम छ। नेपाली सेनाले पनि सैनिक मुख्यालय जङ्गी अड्डास्थित राष्ट्र निर्माताको सालिकमा माल्यार्पण गरी विशेष सम्मान प्रकट गर्दै आएको छ। शाहको जन्मथलो गोरखामा पनि आज विशेष उत्सवको आयोजना गरिएको छ।
यसै अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँमा चियापान समारोहको आयोजना गरेको छ, जहाँ प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको छ।
पृथ्वीनारायण शाहका 'दिव्योपदेश' हरू आजको सुशासन र भ्रष्टाचार न्यूनीकरणका सन्दर्भमा समेत उत्तिकै समयसान्दर्भिक मानिन्छन्। 'घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्' भन्ने उनको भनाइले वर्तमान नेपालको प्रशासनिक शुद्धीकरणमा ठूलो प्रेरणा दिन्छ। नेपाललाई 'दुई ढुङ्गाबीचको तरुल' को संज्ञा दिँदै उनले देखाएको परराष्ट्र नीतिको बाटो आज पनि उत्तिकै महत्त्वपूर्ण छ।
यस दिवसले युवापुस्तालाई मातृभूमिप्रति समर्पण र जिम्मेवारीको भावना जागृत गराउनुका साथै विविधताबीचको एकतालाई थप सबल बनाउन प्रेरणा दिने विश्वास लिइएको छ। उपराष्ट्रपति, सभामुख र विभिन्न राजनीतिक दलका नेताहरूले यस अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रहितलाई प्राथमिकता दिनु नै समृद्ध नेपालको आधार भएको बताएका छन्।