चन्द्रागिरिको डाँडामा गुञ्जियो राष्ट्रियता: सर्जकहरूले कवितामार्फत गरे राष्ट्र निर्माताको स्मरण
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २७ आइतबार
752
Shares
काठमाडौँ । आधुनिक नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्तीका अवसरमा नेपालका प्रतिष्ठित इतिहासकार, कवि तथा सर्जकहरूले चन्द्रागिरि डाँडामा पुगेर सिर्जनात्मक शैलीमा राष्ट्रिय एकता दिवस मनाएका छन्। शनिबार थर्डपोल ग्रुपद्वारा आयोजित कार्यक्रममा सर्जकहरूले पृथ्वीनारायण शाहको सालिकसामु उभिएर राष्ट्रियता र देशप्रेमका रचनाहरू प्रस्तुत गरे।
इतिहासकार प्रा. डा. दिनेशराज पन्तले चन्द्रागिरिको ऐतिहासिक महत्त्वमाथि प्रकाश पार्दै भने, "यही डाँडाबाट काठमाडौँ उपत्यकाको सुन्दरता देखेपछि पृथ्वीनारायण शाहले एकीकरणको सपना बुनेका थिए। उनी हामीलाई नेपाली पहिचान दिलाउने वीर योद्धा हुन्।"
वरिष्ठ कवि एवं गीतकार एसपी कोइरालाले आफ्नो कवितामार्फत पुर्खाको योगदानको कदर गर्दै वर्तमान पुस्तालाई देशका लागि केही गर्न प्रेरित गरे। उनले सुनाए:
चिरेर हेर यो मेरो छाती झण्डाले बनेको। उठेर हेर अलिक माथि माटोले भनेको ।।
अर्का वरिष्ठ कवि दिनेश अधिकारीले तराईको अन्न र पहाडको पानीको सम्बन्ध जोड्दै भावनात्मक एकताको सन्देश दिए। उनले देशलाई गाली नगर्न र बरु यसको पीडा बुझ्न आग्रह गर्दै मार्मिक कविता वाचन गरे।
त्यसैगरी, डा. राजुबाबु श्रेष्ठले खुकुरीले बैरी छप्काएर सीमा कोर्ने राष्ट्र निर्माताको सालिक ढाल्ने प्रवृत्तिप्रति दुःख व्यक्त गरे। कवि मणि लोहनीले 'मानचित्रमा उभिएर' शीर्षकको कवितामा चार जात छत्तीस वर्णको फूलबारीको मर्मलाई शब्दमा उतारे।
कार्यक्रममा हेम प्रभास, नारायण निराशी, एलिसा ढुङ्गाना, प्रभाती किरण, प्रधुम्न जोशी, कृष्ण बञ्जाडे, दिनेश परियार र अनिता कोइराला लगायतका सर्जकहरूले पनि राष्ट्र, राष्ट्रियता र वर्तमान राजनीतिक विसङ्गतिमाथि चोटिला रचनाहरू प्रस्तुत गरेका थिए।
चन्द्रागिरि हिल्सका कम्पनी सचिव झलक शर्मा पौडेलले ऐतिहासिक स्थलमा राष्ट्र निर्माताको सम्मान स्वरूप सालिक निर्माण गरिएको र यसले इतिहास जोगाउन मद्दत गर्ने विश्वास व्यक्त गरे।