काठमाडौँ । भारतीय टेलिभिजन रियालिटी शो ‘इन्डियन आइडल’ सिजन-३ का विजेता, चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङ अब हामीबीच रहेनन् । ४३ वर्षको उमेरमा आइतबार बिहान भारतको नयाँ दिल्लीस्थित आफ्नै निवासमा हृदयघातका कारण उनको निधन भएको खबरले सम्पूर्ण नेपालीभाषी संसार शोकमा डुबेको छ ।
दार्जिलिङका पहाडबाट उदाएका प्रशान्त केवल एक गायक वा अभिनेता मात्र थिएनन्, उनी संघर्ष, आत्मसम्मान र पहिचानको प्रतीक थिए । सन् १९८३ जनवरी ४ मा पश्चिम बंगालको दार्जिलिङमा जन्मिएका उनी नेपाली मूलका परिवारका सन्तान थिए ।
सानै उमेरमा बुबा मदन तामाङलाई दुर्घटनामा गुमाएपछि जीवनले उनलाई चाँडै जिम्मेवार बनायो । पढाइ छोडेर परिवारको भार बोक्दै उनले जीवनको कठोर यथार्थसँग सम्झौता गर्न सिके ।
संगीतको दुनियाँमा पाइला टेक्नुअघि प्रशान्त कोलकाता प्रहरीमा कन्स्टेबलका रूपमा कार्यरत थिए । प्रहरीको वर्दीमै इन्डियन आइडलको मञ्चमा उभिँदा उनले केवल गीत मात्र गाएनन्, आफ्नो पीडा, सपना र आशा पनि गाए ।
उनको सरल व्यक्तित्व, भावनाले भरिएको स्वर र अथक मेहनतले दार्जिलिङ, सिक्किम, नेपाल र भारतभरिका नेपालीभाषी दर्शकहरूको मन जित्यो । अन्ततः उनी इन्डियन आइडल सिजन-३ का विजेता बने । यो जित केवल व्यक्तिगत उपलब्धि थिएन, सम्पूर्ण गोरखा समुदायको गौरव थियो ।
इन्डियन आइडलपछि प्रशान्तले नेपाली, हिन्दी तथा अन्य भाषामा थुप्रै गीतहरू गाए । उनका गीतहरूमा जीवनका अनुभूति, पीडा र सरल भावनाको सुगन्ध पाइन्थ्यो । गायनसँगै उनले नेपाली चलचित्र क्षेत्रमा पनि आफूलाई स्थापित गरे । गोर्खा पल्टन, अङ्गालो यो मायाको जस्ता चलचित्रमा उनको स्वाभाविक अभिनयले दर्शकको मन छोयो ।
कलामात्र होइन, समाजप्रतिको जिम्मेवारीमा पनि उनी सदैव सक्रिय रहे । विभिन्न कन्सर्ट र सामाजिक अभियानमार्फत उनी मानिसहरूसँग जोडिइरहे । सन् २०२१ मा आमालाई कोभिड-१९ का कारण गुमाउँदा उनी गहिरो शोकमा परे, तर पीडालाई शक्तिमा बदल्दै उनले आफ्नो कर्मयात्रा रोक्न दिएनन् । दुर्भाग्यवश, आइतबार उनी स्वयं असामयिक रूपमा यो संसारबाट विदा भए ।
प्रशान्तको योगदान गोर्खा समुदायका लागि ऐतिहासिक रह्यो । इन्डियन आइडल जितमार्फत उनले दार्जिलिङ, तराई, डुवर्स, सिक्किम, उत्तर-पूर्व भारत, नेपाल र विश्वभर छरिएका गोरखाहरूमा एकता, आत्मगौरव र पहिचानको भावना जगाए । उनको सफलताले सांस्कृतिक उपहासविरुद्ध आवाज उठाउन साहस दियो र ‘हामी पनि सक्छौं’ भन्ने विश्वास बलियो बनायो ।
उनको निधनप्रति कलाकारहरूबाट भावुक श्रद्धाञ्जली आइरहेका छन् । गायक प्रमोद खरेलले सामाजिक सञ्जालमा लेखेका छन्,‘कस्तो अप्रिय र अपत्यारिलो खबर सुन्नुपर्यो। प्रिय प्रशान्त तामाङ हामीबीच रहनु भएनछ । उफ ! वैकुण्ठमा वास होस्।’
यसैगरी संगीतकार अर्जुन पोखरेलले दुःख व्यक्त गर्दै लेखेका छन्, ‘नेपाली मन-मुटुमा बस्न सफल इन्डियन आइडल हामी माझ रहेनन् भन्ने खबरले मन भारी भयो। यो खबर असत्य होस् जस्तो लागिरहेछ । आत्माको चिरशान्तिको कामना ।’
यसैगरी गायिका आस्था राउतले भिडियो सेयर गर्दै लेखेकी छन्, ‘अनन्त शान्तिमा विश्राम प्यारो प्रशान्त तामाङ दादा । सबै नेपालीभाषी नेपाली जातिका लागि यो ठूलो क्षति हो । विश्वास गर्नै सक्दिन कि दादा अब छैनन् । उहाँ शान्त स्वभावका, हास्यभाव भएका व्यक्ति हुनुहुन्थ्यो र सधैं नेपालप्रति चिन्तित रहनुहुन्थ्यो ।’
प्रशान्त अब शारीरिक रूपमा हामीसँग छैनन् । तर उनको स्वर, संघर्षको कथा र गोरखा समुदायलाई दिएको आत्मसम्मान सधैं जीवित रहनेछ ।
उनी केवल एक कलाकार होइनन् आशा, पहिचान र प्रेरणाको नाम हुन्, जो समय बिते पनि सधैं सम्झनामा रहिरहने छन् । गायक तथा अभिनेता तामाङको यो असामयिक निधनले उनको परिवार, प्रशंसकहरू र गीत संगीत क्षेत्रलाई गहिरो शोकमा डुबाएको छ ।