काभ्रे सचिव मोक्तानको सुझाव: प्रदेश र क्षेत्रीय सभापति पद खारेज गरौँ, भूगोल र महिलालाई न्याय दिऊँ
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २९ मंगलबार
1.9k
Shares
काठमाडौँ । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनको बन्दसत्रमा बागमती प्रदेशका तर्फबाट काभ्रे जिल्ला सचिव युवराज मोक्तानले पार्टीको साङ्गठनिक संरचनामा आमूल परिवर्तनको माग गरेका छन्। महामन्त्रीद्वयको प्रतिवेदनमाथि आफ्नो धारणा राख्दै सचिव मोक्तानले नेताको भाषण मात्र विचार बन्न नहुने र नेतृत्वले नीतिगत रूपमा आफ्ना विचारहरू राखेर त्यसलाई व्यवहारमा लागू गर्नुपर्ने बताए।
उनले पार्टीभित्रको अवसर वितरणमा पारदर्शिता ल्याउन समानुपातिक सिफारिसको मापदण्ड सबैका लागि एकै किसिमको हुनुपर्नेमा जोड दिए। पहुँच भएकाहरूको मात्र वर्चस्व हुने परिपाटी अन्त्य गर्न भूगोलका आधारमा सबै जिल्लाको समान सहभागिता सुनिश्चित गरिनुपर्ने उनको सुझाव छ।
मोक्तानले पार्टीका मुख्य पदाधिकारी पदहरूमा महिलाहरूको समान सहभागिता हुनुपर्ने माग गर्दै विधानमा रहेका कतिपय प्रावधानहरू खारेज गर्नुपर्ने प्रस्ताव समेत गरे। उनले प्रदेश सभापति र क्षेत्रीय सभापति पदको आवश्यकता नरहेको भन्दै ती पदहरू खारेज गर्नुपर्ने बताए।
साथै, प्रदेशको काममा केन्द्रीय महाधिवेशन प्रतिनिधिले थिचोमिचो गर्न नसक्ने गरी विधान संशोधन हुनुपर्ने उनको भनाइ छ। पार्टीका अति शक्तिशाली निकायहरू मानिने संसदीय बोर्ड, अनुशासन समिति र निर्वाचन समिति नेतृत्वले मनोनयन गर्ने हालको व्यवस्था बदलेर महाधिवेशनबाटै प्रत्यक्ष निर्वाचित हुनुपर्ने क्रान्तिकारी सुझाव उनले दिएका छन्। यसका साथै गैरआवासीय नेपालीहरूको नागरिकताको सवाललाई सम्बोधन गर्दै उनीहरूलाई समेत पार्टीको विधानमा समेट्नुपर्नेमा उनले जोड दिए।