दुई घण्टामै मस्कोदेखि सेन्ट पिटर्सबर्ग: रूसी 'असिन्क्रोनस' मोटरले पायो सञ्चालन अनुमति
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३० बुधबार
2.2k
Shares
काठमाडौँ । रूसले आफ्नै देशमा विकास गरेको उच्च–गति रेलका लागि प्रयोग हुने ‘असिन्क्रोनस’ मोटरको सबै आवश्यक स्वीकृति परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ। रूसी रेलवेका अनुसार यो मोटरको सञ्चालन क्षमता र ऊर्जा दक्षता विश्वका अग्रणी मोटरहरूसँग प्रतिस्पर्धा गर्न सक्ने स्तरको रहेको छ।
पश्चिमी रूसको चेल्याबिन्स्क सहरस्थित रूसी विद्युतीय मोटर उद्योगको कारखानामा गरिएको यस परीक्षणका क्रममा मोटरको स्थायित्व, सुरक्षा र लामो समयसम्म भार वहन गर्न सक्ने क्षमताको गहन जाँच गरिएको थियो, जसको नतिजा पूर्ण रूपमा सन्तोषजनक आएको छ।
‘टिएडी ६५०’ नाम दिइएको यो ६५० किलोवाट क्षमताको मोटरको कार्यक्षमता ९६ प्रतिशतसम्म पुगेको छ, जसले गर्दा निकै कम ऊर्जा खर्चमा रेललाई उच्च गतिमा दौडाउन सम्भव हुनेछ। करिब ७५० किलोग्राम तौल रहेको यो मोटर सानो र कम्प्याक्ट बनावटमा तयार गरिएको छ, जसले रेलको समग्र तौल घटाउन र सञ्चालन सहज बनाउन ठूलो मद्दत पुर्याउनेछ। उराल लोकोमोटिभ्स कम्पनीले निर्माण गरिरहेको यो मोटर आगामी दिनमा रूसका उच्च–गति रेलहरूमा प्रयोग गरिनेछ।
मस्को र सेन्ट पिटर्सबर्गलाई जोड्ने रूसको पहिलो उच्च–गति रेलमार्ग सन् २०२८ (वि.सं. २०८५) सम्ममा पूर्ण रूपमा सञ्चालनमा आउने लक्ष्य राखिएको छ। यो रेलमार्ग तयार भएपछि दुई प्रमुख सहरबीचको यात्रा समय घटेर मात्र दुई घण्टा १५ मिनेटमा सीमित हुनेछ। यस प्रविधिको सफल विकाससँगै रूसी नागरिकले छिटो, सहज र आधुनिक यातायात सेवा प्राप्त गर्ने विश्वास गरिएको छ।