सरकारले छ महिनामा उठायो पाँच खर्ब ८१ अर्ब ४१ करोड राजश्व
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १ बिहिबार
592
Shares
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को छ महिनामा सरकारले कुल पाँच खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । अर्थ मन्त्रालयकाअनुसार यो रकम पुससम्मको लक्ष्यको ८१.७५ प्रतिशत हो ।
सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको छ ।
सोअनुसार पुससम्मको लक्ष्य सात खर्ब ११ अर्ब २१ करोड रुपैयाँ तय गरिएको थियो । तर वास्तविक संकलन लक्ष्यभन्दा करिब एक खर्ब २९ अर्ब ८० करोड रुपैयाँले कम रहेको छ ।
अर्थ मन्त्रालयकाअनुसार पुस महिनामात्रैको राजश्व संकलन भने तुलनात्मक रूपमा सन्तोषजनक देखिएको छ ।
पुस महिनाका लागि एक खर्ब ९० अर्ब ७७ करोड रुपैयाँ लक्ष्य तोकिएकामा एक खर्ब ७१ अर्ब ६३ करोड रुपैयाँ संकलन भएको छ । यसअनुसार पुस महिनाको प्राप्ति प्रतिशत ८९.९६ प्रतिशत रहेको छ ।
त्यसैगरी पुस ३० गते एकै दिनमा २० अर्ब २६ करोड रुपैयाँ राजश्व संकलन भएको अर्थ मन्त्रालयले उपलव्ध गराएको विवरणमा उल्लेख छ ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ वार्षिक राजस्व लक्ष्य लिएको थियो ।
उक्त वर्ष पुससम्मको लक्ष्य छ खर्ब ७२ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा पुस २९ गते (मसान्त) सम्म पाँच खर्ब ६७ अर्ब ४० करोड रुपैयाँ मात्र संकलन भएको थियो ।
त्यस वर्ष पुस महिनामा मात्रै एक खर्ब ६१ अर्ब ६२ करोड रुपैयाँ राजश्व सङ्कलन भएको थियो ।
अर्थमन्त्रालयका अधिकारीहरूका अनुसार चालु आर्थिक वर्षमा पुस महिनाको राजश्व संकलन अघिल्लो वर्षको सोही अवधिभन्दा केही सुधार देखिए पनि समग्र रूपमा पुससम्मको लक्ष्य प्राप्ति भने अझै चुनौतीपूर्ण देखिएको छ ।
बाँकी महिनामा राजश्व संकलनलाई तीब्र बनाउन नीतिगत र कार्यान्वयन तहमा थप प्रभावकारी प्रयास हुने अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले बताए ।
पाण्डेयले भने, ‘जेन-जी आन्दोलनका कारण पछि पहिलो त्रैमासमा राजस्व संकलनमा केही अप्ठ्यारा आए, तर पछिल्ला दिनमा राजश्व संकलन सकारात्मक छ, आगामी दिनमा लक्ष्य अनुसार राजश्व उठ्ने सम्भावना छ ।’
पाण्डेयकाअनुसार अर्थ मन्त्रालयले राजश्व चुहावट रोक्दै आगामी दिन लक्ष्यअनुसार राजश्व उठाउन सबै मातहतका निकायलाई निर्देशन दिइरहेको छ ।