काठमाडौँ । फिनल्याण्ड सरकारले आफ्ना नर्डिक छिमेकीहरू स्वीडेन र नर्वेसँगै डेनमार्कको अनुरोधमा ग्रीनल्याण्डमा सैन्य कर्मचारीहरू पठाउने निर्णय गरेको छ ।
फिनल्याण्डको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ग्रीनल्याण्ड सरकार र डेनमार्कको रक्षा मन्त्रालयले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का सहयोगीहरूसँगको घनिष्ठ सहयोगमा ग्रीनल्याण्डमा डेनिस सशस्त्र बलको अभ्यासलाई निरन्तरता दिने निर्णय गरेको जनाएको छ ।
डेनमार्कको अनुरोधमा फिनल्याण्डले ग्रिनल्याण्डमा स्थानीय परिस्थिति बुझ्न र भविष्यमा हुनसक्ने सैन्य अभ्यासका विकल्पहरूको मूल्याङ्कन गर्न दुई सम्पर्क अधिकारीहरू खटाउनेछ ।
विज्ञप्तिमा भनिएको छ कि आर्कटिक क्षेत्रमा सुरक्षा सुदृढ गर्न गठबन्धनबाट थप प्रयासहरूको आवश्यकता छ ।
फिनल्याण्डका रक्षामन्त्री एण्टी हक्कानेनले नेटोमा आवद्ध भएदेखि नै फिनल्याण्डले आर्कटिक सुरक्षामा योगदान पुर्याउँदै आएको बताएका छन् ।
स्वीडेन, नर्वे, जर्मनी, संयुक्त अधिराज्य र फ्रान्सले पनि यस्तै प्रकारका अपरेसनहरूमा भाग लिइरहेका छन् ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्ड प्राप्त गर्ने इच्छा व्यक्त गरेका छन् ।