मकालु आरोहणका क्रममा शेर्पा आरोहीको मृत्यु, इरानी पर्वतारोही बेपत्ता
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ४ आइतबार
673
Shares
काठमाडौँ । विश्वको पाँचौँ अग्लो हिमाल मकालु (८,४८५ मिटर) को सफल आरोहणपछि मानवीय क्षति भएको छ ।
शिखरबाट फर्किने क्रममा भएको दुर्घटनामा एक शेर्पा आरोहीको ज्यान गएको छ भने एक इरानी पर्वतारोही अझै बेपत्ता छन् । घटनापछि उद्धार चुनौती थप जटिल बन्दै गएको छ ।
मकालु एडभेन्चरको टोलीका सदस्य फुर्वा ओङ्गेल शेर्पा करिब सात हजार ५०० मिटर उचाइमा रहेको क्याम्प-४ माथिबाट लडेर ज्यान गुमाएका हुन् ।
त्यस्तै, ओरालो झर्ने क्रममा इरानी पर्वतारोही अबोल्फजल गोजाली क्याम्प-४ नजिकैबाट बेपत्ता भएका छन्।
बिहीबार चार आरोही सानु शेर्पा, अबोल्फजल गोजाली, फुर्वा ओङ्गेल शेर्पा र लाक्पा रिन्जी शेर्पा एकै समयमा मकालुको चुचुरोमा पुगेका थिए ।
बिहान १०ः२७ बजे शिखर पुगेका उनीहरू ओरालो झर्ने क्रममा दुर्घटनामा परेको पेमा शेर्पाले जानकारी दिए ।
घटनापछि एटके एक्सपिडिसनले स्वेच्छिक उद्धार अभियान शुरू गरेको जनाएको छ ।
कम्पनीका अध्यक्ष पेम्बा शेर्पाका अनुसार फुर्वा ओङ्गेलको शव निकाल्न चार अनुभवी शेर्पा उद्धारकर्ता अशोक लामा, पासदावा शेर्पा, आङ छिरिङ शेर्पा र पासाङ तेन्जी शेर्पालाई परिचालन गरिएको छ ।
यसैबीच, मकालु एडभेन्चरका प्रबन्ध निर्देशक मोहन लम्सालले घटनाको पुष्टि गर्दै आधार शिविरमा रहेका अन्य शेर्पा आरोहीहरूलाई पनि खोज तथा उद्धार कार्यमा परिचालन गरिने बताएका छन ।