काठमाडौँ । हिमाली जिल्ला मुस्ताङमा पछिल्लो तीन वर्षदेखि नियमित हिमपात हुन नसक्दा कृषि र पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको छ। पुस र माघको मुख्य हिउँ पर्ने समय घर्किसक्दा पनि हिउँ नपरेपछि मुस्ताङका किसान चिन्तित बनेका छन्। गत कात्तिकमा माथिल्लो मुस्ताङ र मुक्तिनाथ क्षेत्रमा केही मात्रामा बेमौसमी हिमपात भए पनि त्यसले खेतीपातीलाई कुनै फाइदा पुर्याउन सकेन।
घरपझोङ गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकालीका अनुसार जलवायु परिवर्तनको असरले गर्दा हिउँदयाममा हिमपात हुन छाडेको हो। स्याउ, उवा, फापर र जौ जस्ता बालीका लागि हिउँ 'प्राकृतिक विषादी र मल' दुवै हो। अनुकूल समयमा हिउँ पर्दा जमिनको भित्री तहसम्म चिस्यान पुग्ने र हानिकारक कीराहरू मर्ने भए पनि हिउँको अभावमा अहिले बालीमा रोगको प्रकोप बढ्न थालेको छ। हिउँ नपरेपछि किसानहरूले खोलाको पानीबाट सिँचाइ गर्नुपर्ने बाध्यता छ, जसले हिउँजस्तो चिस्यान कायम राख्न सक्दैन।
स्थानिय ८४ वर्षीय वृद्ध ङाचा थकाली पहिलेका वर्षहरूमा दुई फिटसम्म हिउँ पर्ने गरेको स्मरण गर्दै अचेल हिउँ देख्न पनि मुस्किल भएकोमा अचम्म मान्छन्। हिउँ नपर्दा कृषिमा मात्र नभई पर्यटनमा पनि उत्तिकै असर परेको छ। मुक्तिनाथका होटल व्यवसायी सुरज गुरुङका अनुसार हिउँदमा हिउँ खेल्न आउने पर्यटकको सङ्ख्या ह्वात्तै घटेको छ। हिउँकै अभावमा पहिले आयोजना हुने गरेका 'स्की' जस्ता साहसिक खेल प्रतियोगिता समेत प्रभावित भएका छन्।
जलवायु परिवर्तनको प्रभाव यतिसम्म देखिएको छ कि चैत-वैशाखमा पलाउनुपर्ने स्याउको पालुवा तापक्रम वृद्धिका कारण पुस महिनामै देखिन थालेको छ। घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनका अनुसार मुस्ताङको स्याउ खेती विस्तारै उकालो चढ्दै (बसाइँ सर्दै) जान थालेको छ। अर्कोतर्फ, हिउँ पर्न छाडेर बेमौसमी वर्षा हुन थालेपछि मुस्ताङका परम्परागत ढुङ्गा र माटोका घरहरू चुहिने र भत्किने समस्या बढेको छ, जसका कारण मौलिक वास्तुशैली मासिँदै कङ्क्रिटका घरहरू बन्न थालेका छन्।