शान्त र ध्यान मग्न भएर हिँड्न मकालु पदमार्ग [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ५ सोमबार
706
Shares
सङ्खुवासभा । प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा हिँड्न चाहनेका लागि सङ्खुवासभाको मकालु पदमार्ग उपयुक्त रहेको छ ।
मकालु हिमाल ‘मकालु–बरूण राष्ट्रिय निकुञ्ज’ मा पर्दछ । सरकारले वि।सं। २०४९ मा बनाएको यो निकुञ्जको क्षेत्रफल १,५०० वर्ग कि।मि। छ । निकुञ्जको उचाइ ४३५ मिटरदेखि ८,४८५ मिटरसम्म छ । यसको पश्चिममा सगरमाथा राष्ट्रिय निकुञ्ज र उत्तरमा तिब्बतको चोमोलोङ्मा प्रकृति संरक्षण क्षेत्र पर्दछ ।
यस पदमार्गमा जाने पर्यटकहरू तुम्लिङटार वा खाँदबारीबाट ८ दिनमा मकालु बेसक्याम्प पुग्दछन् भने बेसक्याम्पबाट फर्केर ३ दिनमा तुम्लिङटार वा खाँदबारी फर्कने गर्दछन् ।
भोटे, राई, शेर्पा लगायत जातजातिको बसोबास रहेको सो क्षेत्रमा २ हजार १ सय मिटरको उचाइमा शेर्पा जातिको बसोबास रहेको टासीगाउँ पर्दछ र यस गाउँ भन्दा माथि कुनै गाउँ छैन , बास बस्नका लागि ठाउँ ठाउँमा होटल सुविधा भने रहेको छ ।
टासीगाउँमा प्रायः घरमा हिमाल आरोहणका लागि व्यावसायिक गाइड छन्। यहाँ व्यवस्थित होटल, हेलिप्याड, स्वास्थ्यचौकीको सुविधा छ भने भरिया पनि सहजै पाइन्छन्। टासीगाउँका युवकहरू पर्यटन व्यवसायमा संलग्न रहेका छन् ।
टासीगाउँबाट हिमाली घना जंगलको उकालो बाटो करिब ७ घन्टा चढेपछि ३ हजार ६ सय ६० मिटर उचाइको खोङडाँडा पुगिन्छ, जहाँ दुई घर मात्र छन्। यहाँबाट कुम्भकर्ण हिमशृंखला, कञ्चनजंघा हिमाल र मकालुको मनमोहक दृश्यलाई नजिकबाट नियाल्न सकिन्छ।
यहाँ बास बसेपछि भोलिपल्ट सानो पोखरी, ठूलो पोखरी, ४ हजार २ सय ५० मिटर उचाइमा रहेको सिप्तन्ला भन्ज्याङ हुँदै पाँचौं क्याम्प ३ हजार ८ सय ६० मिटर अग्लो दोबाटे पुगिन्छ।
दोबाटेबाट बरुणको बगरै बगर हुँदै छैटौँ क्याम्प याङ्ला खर्कमा बास बस्नुपर्छ। याङ्ला खर्कबाट ४ घन्टाको पदयात्रापछि ४ हजार ५ सय मिटर उचाइमा रहेको लाङ्माले क्याम्पमा एक दिन बास बस्नुपर्छ। लाङ्मालेबाट ४ घन्टा हिँडेर ५ हजार ९ सय मिटर उचाइमा रहेको मकालु बेस क्याम्प पुगिन्छ। यहाँ बस्तीका नाममा तीनवटा घर मात्र छन्, त्यसैले पर्यटकले टेन्टमै बस्नुपर्छ।
यस पदमार्गमा शिवधारा, ताडोसा’ (४,०००मिटर), हामाफोजुङ (आमाछोरा) पहाड लगायतका धार्मिक महत्वका क्षेत्र समेत पर्ने गर्दछ भने मकालु क्षेत्रमा डाँफे, हिमाली काग, भ्याकुरा, मुनाल, कालिज, रेडपान्डा, विभिन्न प्रजातिका पुतली, जंगलमा विभिन्न प्रजातिका रंगीचंगी फूल अवलोकन गर्न सकिन्छ।
विदेशीका लागि यो पदमार्ग खुलेको करिब आधा दशक मात्र भएको छ र प्रत्येक वर्ष सो पदमार्गमा विदेशी पर्यटक संख्या बढेको निकुञ्ज कार्यालयको तथ्यांकले देखाएको छ । गत वर्ष १ हजार ४ सय १४ पर्यटकले यो पदयात्रा पूरा निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।
सुधार गर्नु पर्ने पक्षः
संसारको १४ वटामात्रै ८ हजार मिटरमाथिका हिमाली चुचुरामा मकालु हिमाल पाँचौं अग्लोमा पर्छ । संखुवासभाको नुम बजारसम्म सडकले जोडिएसँगै पदयात्रा छोटिएपछि हिजोआज धेरैले यात्रा गर्न थालेका छन् ।
राष्ट्रिय र अन्तराष्ट्रिय परिचित हुँदै गएको यस पदमार्ग क्षेत्र भने पदमार्गीका लागि धेरै असुरक्षित छ । पहिरो खसेर ठाउँठाउँमा बाटो भत्किएका, पुलपुलेसा र फड्केहरू जोखिम मोलेर गर्नु पर्ने, रुख ढलेर जंगलको यात्रा कष्टकर रहेको छ ।
यति हुँदा पनि सम्बन्धित निकायले पदमार्ग निर्माण र सुरक्षित बनाउन ध्यान नदिएको स्थानीयको गुनासो रहेको छ ।