सुकुटे । सामान्यतया गर्मी बढेसँगै सिन्धुपाल्चोकको सुकुटे क्षेत्रस्थित तल्लो भोटेकोशी (सुनकोशी) नदीमा जलयात्रा अर्थात् र्याफ्टिङका लागि आन्तरिक पर्यटकको चाप बढ्ने गर्छ । गर्मी छल्न र नदीसँग रमाउँदै बिदा मनाउन उपत्यकाबासीका लागि सुकुटे प्रमुख गन्तव्य मानिन्छ। प्रायः फागुनको मध्यदेखि असार–साउनको मध्यसम्म यहाँ र्याफ्टिङ हुने गर्दछ।
तर यस वर्ष माघ महिनाको कठ्याङ्ग्रिने चिसोमा पनि भोटेकोशी नदीमा साहसिक जलयात्रा देखिएको छ। सामान्यतया सुनसान रहने हिउँदको मौसममा समेत साहसको खोजीमा नदीमा पौँठेजोरी खेलिरहेका दृश्यहरू कैद भएका छन्।
भोटेकोशीको छालले डुंगामाथि हान्दा उछिट्टिएको चिसो पानी अनुहारमा पर्दा शरीर सिहरिन्छ तर सहभागीहरूको आँखामा डरभन्दा ठूलो उत्साह देखिन्छ। हिउँदमा नदीको बहाव कम भए पनि पानी अत्यन्त चिसो हुने भएकाले यो समय जलयात्रा अझ चुनौतीपूर्ण मानिन्छ।
र्याफ्टिङ स्टारका सञ्चालक दीपककुमार राईका अनुसार अनुभवी गाइडको निर्देशन, पर्याप्त सुरक्षा उपकरण र टोलीगत समन्वय बिना यस्तो साहस सम्भव हुँदैन। “चिसो मौसम र उग्र नदीसँग जुध्न आत्मविश्वास र अनुशासन अत्यावश्यक हुन्छ,” उनले भने।
चिसो मौसम, उग्र नदी र मानवीय जिद्दीताको संगमले हिउँदको जलयात्रालाई फरक कथामा रूपान्तरण गरेको छ, जहाँ साहसले मौसमलाई जित्ने प्रयास गर्दछ।
हिउँदको भोटेकोशीमा र्याफ्टिङ दृश्य मात्र होइन, अनुभूति पनि हो चिसो पानी, तेज बहाव र आत्मविश्वासले साहसिक पर्यटनको अर्को पाटो उजागर गरेको छ।