arrow

काठमाडौँ–५ मा कमल थापालाई टिकट दिएपछि हिक्मतजंग कार्कीको राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ६ मंगलबार
hitjung.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य हिक्मतजंग कार्कीले पार्टी परित्याग गरेका छन्। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर ५ को उम्मेदवार चयनमा नेतृत्वले 'सेटिङ' र स्वेच्छाचारिता देखाएको आरोप लगाउँदै उनले केन्द्रीय सदस्य तथा साधारण सदस्यबाट राजीनामा दिएका हुन्।

राप्रपाले काठमाडौँ–५ मा पूर्वअध्यक्ष कमल थापालाई उम्मेदवार बनाउने निर्णय गरेपछि कार्की रुष्ट बनेका हुन्। क्षेत्रीय कमिटीले आफूसहित नवीन खड्का र हेमजंग गुरुङ जस्ता युवा नेताहरूको नाम सिफारिस गरे पनि नेतृत्वले ती सबैलाई पन्छाएर नौ पटक मन्त्री भइसकेका व्यक्तिलाई टिकट दिएकोमा उनले कडा आपत्ति जनाएका छन्।

कार्कीले एक विज्ञप्ति जारी गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा पार्टी व्यक्तिगत स्वार्थ र सत्ताको सेटिङतर्फ केन्द्रित भएको दाबी गरेका छन्। उनले भनेका छन्, “युवा नेतृत्वको मर्ममाथि प्रहार गर्दै भर्खरै पार्टीमा आएका कमल थापालाई टिकट दिनुले नेतृत्वको अदूरदर्शिता प्रष्ट पारेको छ। यस्तो दोहोरो चरित्रको नेतृत्वमा रहेर देश र जनताको सेवा गर्न सकिँदैन।”

उनले चैत १५ को आन्दोलनका क्रममा राजसंस्थाको पक्षमा अन्तर्राष्ट्रिय लबिङमा आफ्नो महत्त्वपूर्ण भूमिका रहे पनि नेतृत्वले अरूको योगदानमाथि आफ्नो नाम चम्काउने प्रवृत्ति देखाएको आरोप समेत लगाए। अब कुनै पनि दलको घेराभित्र सीमित नभई 'जेन–जी' आन्दोलनको मर्म र युवाहरूको भावना अनुसार स्वतन्त्र रूपमा अघि बढ्ने उनले घोषणा गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ