ललितपुरका तीन क्षेत्रमा ७४ उम्मेदवार: तोसिमा, उदय र जगदीशबीचको प्रतिस्पर्धा रोचक बन्दै
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ७ बुधबार
1.2k
Shares
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा गरी कुल ७४ जनाले उत्साहजनक रूपमा उम्मेदवारी दर्ता गराएका छन्।
जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा मङ्गलबार विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराएसँगै चुनावी सरगर्मी बढेको छ। कुल उम्मेदवारमध्ये ललितपुर क्षेत्र नं १ मा सबैभन्दा बढी २८ जनाको उम्मेदवारी परेको छ, जसमा १२ जना स्वतन्त्र र १६ जना विभिन्न राजनीतिक दलका प्रतिनिधि रहेका छन्। यस क्षेत्रमा २५ जना पुरुष र ३ जना महिला चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
ललितपुर क्षेत्र नं २ मा २३ जनाले उम्मेदवारी दर्ता गराएका छन्, जसमध्ये १६ जना राजनीतिक दलका र ७ जना स्वतन्त्र उम्मेदवार रहेका छन्। यस क्षेत्रमा महिला उम्मेदवारको सङ्ख्या २ रहेको छ। त्यसैगरी, ललितपुर क्षेत्र नं ३ मा पनि २३ जनाकै उम्मेदवारी दर्ता भएको छ।
यस क्षेत्रमा १६ जना दलगत र ७ जना स्वतन्त्र उम्मेदवार मैदानमा छन् भने महिला उम्मेदवारको सङ्ख्या ५ रहेको छ। समग्र जिल्लाको तथ्याङ्क हेर्दा महिला उम्मेदवारीको सङ्ख्या पुरुषको तुलनामा निकै कम देखिएको छ।
निर्वाचन क्षेत्रअनुसार प्रमुख दलहरूबीच निकै रोचक र कडा प्रतिस्पर्धा हुने देखिएको छ। क्षेत्र नं १ मा नेपाली कांग्रेसका उदय शमशेर राणा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बुद्धरत्न महर्जन र नेपाल कम्युनिष्ट पार्टीका सुनिल महर्जनबीच मुख्य भिडन्त हुने आँकलन गरिएको छ। क्षेत्र नं २ मा निवर्तमान सञ्चारमन्त्री जगदीश खरेल सहित नेपाल कम्युनिष्ट पार्टीका राजेन्द्र अमात्य र कांग्रेसका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
त्यस्तै, क्षेत्र नं ३ मा रास्वपाकी डा. तोसिमा कार्की, कांग्रेसका जीतेन्द्र श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका राजकाजी महर्जनले उम्मेदवारी दर्ता गराएसँगै चुनावी नतिजा कसको पक्षमा जान्छ भन्ने चासो बढेको छ।