ब्रेक फेल भएर भित्तामा ठोक्कियो विद्यार्थी बोकेको बस
छ विद्यार्थी घाइते, दुई जनाको अवस्था गम्भीर
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ७ बुधबार
814
Shares
काठमाडौँ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को बुलिङटार गाउँपालिका–२ भेलौरीस्थित कालीगण्डकी करिडोरमा शैक्षिक भ्रमणमा रहेको बस दुर्घटना हुँदा झापाका ६ जना विद्यार्थी घाइते भएका छन्।
झापाको बिर्तामोडस्थित निभी आदर्श कलेजका कक्षा १२ मा अध्ययनरत ३५ जना विद्यार्थी बोकेर पोखराबाट गैँडाकोटतर्फ आउँदै गरेको ग१ख ९५४६ नम्बरको बस बुधबार दिउँसो दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक युवराज खड्काले दिएको जानकारी अनुसार बसको ब्रेक फेल भएर भित्तामा ठोक्किँदा यो दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका ६ जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले उनीहरूलाई थप उपचारका लागि चितवनको भरतपुर पठाइएको छ। गम्भीर घाइते हुनेहरूमा झापा बिर्तामोड–८ की १८ वर्षीया छात्रा उन्नति पाठक र १८ वर्षीय छात्र गगन नेचे रहेका छन्।
बाँकी चार जना घाइतेहरू अनिल जयसवाल, अङ्कित सिटौला, साङनुमा लिम्बू र पवित्रा गुरुङको स्थानीय बुलिङटार अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घटनालगत्तै स्थानीय बासिन्दा र प्रहरीको टोलीले घाइतेहरूको उद्धार गरेका थिए। कालीगण्डकी करिडोरको घुम्ती र साँघुरो सडकमा तीव्र गतिका कारण नभई यान्त्रिक गडबडी (ब्रेक फेल) ले दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हाल बस र चालकलाई इलाका प्रहरी कार्यालय बुलिङटारले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।