भन्सार राजस्व उठाउने निकाय मात्र होइन: वाणिज्य सचिव घिमिरे
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १२ सोमबार
806
Shares
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले भन्सार प्रशासनलाई हेर्ने परम्परागत दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिएका छन्। अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भन्सारलाई केवल 'राजस्व उठाउने अड्डा' का रूपमा मात्र सीमित राख्न नहुने बताए।
सचिव घिमिरेले भन्सार प्रशासनले सीमा नाकाको सुरक्षा, व्यापार सहजीकरण, जनस्वास्थ्यको प्रवर्द्धन र आपूर्ति शृङ्खलालाई व्यवस्थित बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। भन्सार सुधार र आधुनिकीकरणका लागि नयाँ रणनीति तयार भइरहेको जानकारी दिँदै उनले भने, "हामी वार्षिक कार्यक्रम र स-साना माइलस्टोनमा बढी केन्द्रित हुँदा दीर्घकालीन रणनीति र आधुनिकीकरणमा कतै पछि परेका त छैनौँ भन्ने देखिएको छ, अब वार्षिक कार्ययोजनासँगै नयाँ रणनीतिलाई पनि सँगै लैजानुपर्छ।"
उनले भन्सार जाँचपास प्रक्रियामा हुने ढिलाइलाई अब स्वीकार गर्न नसकिने बताउँदै प्रविधिको प्रयोगबाट यसलाई छिटो र छरितो बनाउनुपर्नेमा जोड दिए। साथै, व्यवसायीहरूलाई पनि भन्सार ऐनको पूर्ण पालना गर्न र व्यावसायिक इमानदारिता देखाउन उनले आग्रह गरे।