संसद् छिर्न खोज्दै यातायात व्यवसायी: अध्यक्षसहित चार जना चुनावी मैदानमा
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १२ सोमबार
999
Shares
काठमाडौँ । नेपालको सार्वजनिक यातायात क्षेत्रमा रहेको निजी क्षेत्रको अर्बौँको लगानी र लाखौँ मजदुरका मुद्दाहरूलाई नीति निर्माणको तहसम्म पुर्याउन यसपटक चार जना प्रभावशाली यातायात व्यवसायीहरू प्रतिनिधिसभा सदस्य निर्वाचनको चुनावी मैदानमा उत्रिएका छन्। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाका अनुसार, सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित बनाउन र यस क्षेत्रको आवाज संसद्मा बुलन्द गर्न व्यवसायीहरूले विभिन्न राजनीतिक दलबाट उम्मेदवारी दिएका हुन्।
नेपाली कांग्रेसको तर्फबाट महासङ्घका केन्द्रीय अध्यक्ष विजयबहादुर स्वाँरले कैलाली–२ बाट उम्मेदवारी दिएका छन् भने वरिष्ठ व्यवसायी विष्णु खड्काले सुर्खेत–१ र भागवत मल्लले स्याङ्जा–२ बाट चुनावी प्रतिस्पर्धा गर्दैछन्। त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कर्णाली यातायातका प्रमुख रमेश सापकोटाले सुर्खेत–२ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। व्यवसायीहरूले नीति निर्माणको तहमा यातायात क्षेत्रको प्रतिनिधित्व नहुँदा देशको आर्थिक समृद्धिको आधार मानिने यो क्षेत्र भद्रगोल र अस्तव्यस्त बनेको गुनासो गर्दै आएका छन्।
वरिष्ठ उपाध्यक्ष सिटौलाले मुलुकको ठूलो लगानी रहेको र आम नागरिकले दैनिक प्रयोग गर्ने सार्वजनिक यातायात क्षेत्रलाई उपेक्षा गरिएकै कारण अहिलेको अवस्था आएको टिप्पणी गरे। उनले यातायात क्षेत्रका समस्या समाधानका लागि व्यवसायीहरूको संसद्मा उपस्थिति अनिवार्य रहेको उल्लेख गर्दै चुनावी मैदानमा रहेका चारै जना उम्मेदवारलाई विजयी गराउन देशभरका यातायात व्यवसायी र मजदुरहरूलाई एकजुट भएर लाग्न अपिल समेत गरेका छन्।