arrow

छ महिनामै भित्रियो ९० अर्बको पेट्रोलियम पदार्थ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १३ मंगलबार
petrol-pump.jpeg

काठमाडौँ । नेपालको प्रमुख व्यापारिक नाका वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु ९० अर्ब ६ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। यो परिमाण गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु २ अर्ब ७५ करोडले बढी हो। गत वर्षको पहिलो छ महिनामा रु ८७ अर्ब ३१ करोड मूल्यको इन्धन आयात भएको थियो।

पेट्रोलियम पदार्थको आयात बढेसँगै यसबाट सङ्कलन हुने राजस्वमा पनि वृद्धि देखिएको छ। वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवको छ महिनामा इन्धन आयातबाट रु ३७ अर्ब ८५ करोड राजस्व सङ्कलन भएको छ, जुन गत वर्षको सोही अवधिको रु ३६ अर्ब १४ करोडको तुलनामा उल्लेख्य वृद्धि हो।

भन्सार कार्यालयले सार्वजनिक गरेको विस्तृत विवरण अनुसार यस अवधिमा सबैभन्दा बढी रु ४५ अर्ब ३८ करोड मूल्यको डिजेल आयात भएको छ, जसबाट सरकारले रु १९ अर्ब ८५ करोड राजस्व प्राप्त गरेको छ। त्यसैगरी रु २० अर्ब ९८ करोड मूल्यको पेट्रोल आयात हुँदा रु १३ अर्ब ८२ करोड राजस्व सङ्कलन भएको छ। भान्छामा प्रयोग हुने एलपीजी ग्यासको आयात पनि उल्लेख्य रहेको छ। रु १४ अर्ब ७९ करोड मूल्यको ग्यास आयात हुँदा त्यसबाट रु २ अर्ब ७७ करोड राजस्व सङ्कलन भएको भन्सार तथ्याङ्कले देखाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ