काठमाडौँ । पछिल्लो एक सातादेखि भारतबाट मागअनुसार एलपी ग्यास आयात हुन नसक्दा नेपाली बजारमा आपूर्ति असहज बनेको छ। जसका कारण उपभोक्ताहरूले ग्यासको अभाव झेल्नु परिरहेको छ।
नेपालमा सबैभन्दा धेरै ग्यास आयात हुने इन्डियन आयल कर्पोरेसन (आईओसी) को बरौनी रिफाइनरी अहिले मर्मतका क्रममा रहेकाले त्यहाँबाट कोटाअनुसार ग्यास लोड हुन नसकेको नेपाल आयल निगमले जनाएको छ। नेपालमा मुख्यतः बरौनी, मथुरा, पारादीप र दुर्गापुर रिफाइनरीबाट ग्यास आयात हुने गर्दछ। मथुराबाट नियमित आपूर्ति भए पनि बरौनीको पुरानो प्लान्टमा बारम्बार समस्या आउँदा दुई–चार दिनसम्म लोड नै रोकिने गरेको निगमको भनाइ छ।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दले पनि बरौनीबाट सीमित मात्रामा मात्रै ग्यास आइरहेको र पारादीप एवं दुर्गापुरबाट पनि अपेक्षाअनुसार आपूर्ति नभएको स्वीकार गरेका छन्। जाडोयाममा भारतमै ग्यासको खपत बढ्ने भएकाले आईओसीले पहिला आफ्नो आन्तरिक माग पूरा गरेर मात्र नेपालतर्फ आपूर्ति पठाउँदा समस्या थपिएको हो।
जाडोमा काठमाडौँ उपत्यकाको खपत सामान्यभन्दा २०–२५ प्रतिशतसम्म बढ्ने गर्दछ। नेपाललाई प्रतिमहिना करिब ४८ हजार मेट्रिक टन ग्यास आवश्यक पर्ने भए पनि यस महिना आयात ५ हजार मेट्रिक टनसम्म कम हुने देखिएकाले बजारमा प्रत्यक्ष प्रभाव परेको हो।
बरौनीबाट लोड नपाउँदा ओडिसाको पारादीप जस्ता टाढाका रिफाइनरीसम्म गाडी पठाउनुपर्ने बाध्यता आइलागेको र यसले ढुवानीका साधनको अभाव सिर्जना गरेको चन्दले बताए। उनका अनुसार गाडीहरू समयमै पुग्न नसक्दा लोडिङमा ढिलाइ भइरहेको छ।
आयातमा देखिएको यो समस्या झन्डै २०–२५ दिनदेखि सुरु भए पनि बजारमा भने पछिल्लो एक हप्तादेखि मात्र अभाव महसुस भएको हो। निगम स्रोतका अनुसार अहिले उपलब्ध सबै साधन प्रयोग गरी ग्यास ल्याउने प्रयास तीव्र पारिएको छ र आगामी एक–डेढ हप्ताभित्र आपूर्ति व्यवस्था पुनः सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको छ।