जमुनाह नाका छ वर्षपछि तेस्रो मुलुकका पर्यटकका लागि खुला
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १७ शनिबार
911
Shares
काठमाडौँ । बाँकेको जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि पुनः आवतजावत सुरु भएको छ। अध्यागमन कार्यालय जमुनाहले एक साताअघिदेखि तेस्रो मुलुकका पर्यटकका लागि आगमन र प्रस्थान सेवा पूर्ण रूपमा सञ्चालनमा ल्याएपछि पर्यटकीय गतिविधि बढ्ने आशा पलाएको छ।
कार्यालयकी प्रमुख दुर्गा वलीका अनुसार नाका खुलेलगत्तै दुई जना तेस्रो मुलुकका पर्यटक भारत हुँदै गइसकेका छन्। कोरोना कालदेखि बन्द रहेको यो नाका करिब ६ वर्षपछि पर्यटकका लागि निर्वाध रूपमा सञ्चालनमा आएको हो। वलीले अब जमुनाह नाकाबाट आउने–जाने कुनै पनि पर्यटकलाई असहज नहुने र यसबाट नेपालको पर्यटन क्षेत्रले ठूलो लाभ लिन सक्ने बताएकी छिन्। नाका सञ्चालन भएसँगै सीमा क्षेत्रका होटलहरू चलायमान हुने र आर्थिक कारोबार बढ्ने उनको विश्वास छ।
पर्यटकहरू भारत हुँदै जमुनाह नाका भएर बाँके र बर्दियाका पर्यटकीय स्थलसम्म पुग्न सक्ने भएपछि राजस्व सङ्कलनमा समेत टेवा पुग्ने देखिएको छ। भारतीय पत्रकार एसके मधेसीयाले पनि नाकाबाट हुने आवतजावतले दुवै देशलाई लाभ हुने र भारत हुँदै जाने तेस्रो मुलुकका पर्यटकले सिधै नेपालका पर्यटकीय क्षेत्रको अवलोकन गर्न पाउने उल्लेख गरेका छन्। यसअघि लामो समयसम्म नाका बन्द हुँदा तेस्रो मुलुकका पर्यटकहरूले वैकल्पिक र घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो।
नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीले नाका सञ्चालनमा आएपछि सबैभन्दा बढी खुसी स्थानीय व्यवसायीहरू भएको बताएका छन्। उनले अब तेस्रो मुलुकका पर्यटकले सजिलै बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका बाघ लगायतका वन्यजन्तुको अवलोकन गरी भरपुर आनन्द लिन सक्ने जनाए। नाका खुलेसँगै पश्चिम नेपालको पर्यटन उद्योगमा नयाँ ऊर्जा थपिएको छ।