arrow

सर्लाहीमा राम मनोहरले पाए आमाको नामबाट पहिलो नागरिकता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २० मंगलबार
ram-manohar-sarlahi-nagarikta.jpg

काठमाडौँ ।  जिल्ला प्रशासन कार्यालय सर्लाहीले पहिलोपटक आमाको नामबाट नागरिकता जारी गरेको छ। सोमबार लालबन्दी नगरपालिका–७ का राम मनोहर गुप्तालाई आमाको नामबाट नागरिकता प्रदान गर्दै कार्यालयले यो नयाँ सुरुआत गरेको हो।

बाबु विदेशी र आमा नेपाली रहेका गुप्तालाई नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन र नियमावलीको चौथो संशोधनका आधारमा अङ्गीकृत नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी रामुराज कँडरियाले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी कँडरियाका अनुसार ऐन र नियमावली संशोधन भएपछि जिल्लाबाट आमाको नाममा नागरिकता जारी भएको यो पहिलो घटना हो। अब बाबुको अत्तोपत्तो नभएका वा विदेशी बाबु र नेपाली आमाबाट जन्मिएका सन्तानले सहजै अङ्गीकृत नागरिकता पाउने बाटो खुलेको उनले बताए।

यसले सर्लाही जिल्लाका धेरै नागरिकताविहीन नेपाली सन्तानको समस्या हल हुने उनको अपेक्षा छ। संशोधित ऐनअनुसार जिल्लाका २० वटै पालिकामा दुई हप्ताअघि नै परिपत्र गरी प्रक्रिया पुर्‍याएर आउन सूचित गरिएको उनले जानकारी दिए।

नागरिकता नहुँदा शिक्षा र सीप भएर पनि जागिर खान नपाएका, बैंक खाता खोल्न र आफ्नै नाममा सिमकार्ड निकाल्न समेत वञ्चित भएका व्यक्तिहरूका लागि यो कदम कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ। नागरिकता पाएपछि खुसी हुँदै गुप्ताले भने, "आजदेखि म आधिकारिक रूपमा नेपाली नागरिक भएको छु।" नेपालकै भूगोलमा जन्मिएर पनि आफूलाई नेपाली प्रमाणित गर्न गर्नुपरेको सङ्घर्ष निकै पीडादायी र चुनौतीपूर्ण रहेको उनले सुनाए। उनको यो सफलताले उनी जस्तै अन्य धेरै युवाहरूमा नयाँ आशा जगाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ