काठमाडौँ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कप्र्स (आईआरजीसी) ले अमेरिकासँगको बढ्दो तनावकै बीच बुधबार आफ्नो नयाँ भूमिगत मिसाइल बेस सार्वजनिक गरेको छ। अर्ध-सरकारी फार्स समाचार एजेन्सीका अनुसार सशस्त्र बलका चिफ अफ स्टाफ अब्दुलराहिम मौसवी र आईआरजीसीका एरोस्पेस कमाण्डर सैयद माजिद मौसवीले उक्त बेसको भ्रमण गरी मिसाइल एकाइहरूको परिचालन तयारीको मूल्याङ्कन गरेका छन्।
भ्रमणका क्रममा वरिष्ठ कमाण्डरहरूलाई इरानको रणनीतिक सैन्य प्रगति र हतियारहरूको भण्डारण क्षमताका बारेमा विस्तृत जानकारी गराइएको छ। मौसवीले इरानले आफ्ना ब्यालिस्टिक मिसाइलहरूलाई प्राविधिक रूपमा निकै उन्नत बनाएको र यसले देशको प्रतिरोध क्षमतालाई थप बलियो बनाएको दाबी गरे।
उनले इरानले अब आफ्नो सैन्य सिद्धान्तलाई रक्षात्मकबाट बदलेर आक्रामक बनाएको घोषणा गर्दै शत्रुको कुनै पनि कारबाहीको कडा जवाफ दिन आफूहरू तयार रहेको उल्लेख गरे। अमेरिकाले इरानको सिमाना नजिक आफ्नो सैन्य उपस्थिति बढाउँदै तेहरानलाई नयाँ सम्झौताका लागि दबाब दिइरहेका बेला इरानको यो आक्रामक रूप सार्वजनिक भएको हो।
मौसवीले अमेरिकालाई कडा चेतावनी दिँदै भने कि यदि वासिङ्टनले सानो पनि गल्ती गर्यो भने त्यसले क्षेत्रीय युद्ध निम्त्याउन सक्छ, जसको चपेटाबाट कुनै पनि अमेरिकी सुरक्षित रहने छैनन्। यो विकासक्रमले मध्यपूर्वमा शक्ति सञ्चय र सम्भावित द्वन्द्वको जोखिमलाई अझ बढाएको छ।
इरानले आफ्नो सैन्य शक्तिलाई केवल सीमा सुरक्षामा मात्र सीमित नराखी क्षेत्रीय प्रभुत्वका लागि आक्रामक रूपमा अघि बढाउने सङ्केत दिएको छ। विशेष गरी भूमिगत रूपमा निर्माण गरिएका यस्ता मिसाइल बेसहरूले इरानलाई हवाई आक्रमणबाट सुरक्षित राख्न मद्दत गर्ने रणनीतिकारहरूको विश्लेषण छ।
अमेरिका र उसका सहयोगी राष्ट्रहरूले इरानको यो कदमलाई अन्तर्राष्ट्रिय सुरक्षाका लागि खतरा माने पनि तेहरानले भने यसलाई आफ्नो सार्वभौमसत्ता र प्रतिरक्षाको अधिकार भएको दाबी गर्दै आएको छ। यो नयाँ बेसको अनावरणसँगै मध्यपूर्वको राजनीतिमा पुनः एक पटक तरङ्ग पैदा भएको छ।