देशको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्ने कुलमान घिसिङको दाबी
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २२ बिहिबार
2.2k
Shares
जनकपुर । पूर्वमन्त्री एवं उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्ने दाबी गरेका छन् ।
बिहीबार चुनावी प्रचार प्रसारका क्रममा मधेस ओर्लिएका घिसिङले जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै अबको प्रधानमन्त्री उज्यालो नेपाल पार्टीको हुने दाबी गरे ।
उनले देशको परिवर्तन गर्न उज्यालो नेपाल पार्टीको नेतृत्वमा सरकार बन्ने बताए ।
अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टीले जेन-जी आन्दोलनको माग र भावना बोकेर अगाडि बढेको जानकारी दिए ।
उनले पछिल्लो दिनहरुमा काम गरेर आएका व्यक्तिहरू मिलेर बनेको उज्यालो नेपाल पार्टी देशको परिवर्तन गर्न आएको बताए ।
अबको भोट भनेको भाषण गर्नेको नभई काम गर्नेहरूको रहेको उनको भनाइ थियो । अध्यक्ष घिसिङले केही पार्टीहरूले भाषण गरेर सामाजिक सञ्जाल चलाएर स्थापित भएको बताए ।
अध्यक्ष घिसिङले बिहीबारबाट मधेस प्रदेशको भ्रमण शुरू गरेको र जनताको घरदैलौ कार्यक्रमअन्तर्गत मधेस प्रदेश आएको जानकारी दिए ।
उनले प्रदेशको आठ ओटै जिल्लामा आफ्नो पार्टीका उम्मेद्वारहरू भएकोले सबैसँग भेटघाट एवं छलफल गर्ने उद्देश्यले मधेस झरेको बताए ।
अध्यक्ष घिसिङले जनकपुरधामको जानकी मन्दिर, राममन्दिर र राजदेवी मन्दिरमा पूजा पाठ गरेका छन् ।
यस्तै उनले जनकपुरधामस्थित पिडारी चोकमा पार्टीको सम्पर्क कार्यालयको उद्घाटन गरेका छन् ।