अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमनको नयाँ रेकर्ड: २५ वर्षमा २६ लाख बढी विदेशी भित्रिए
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २६ सोमबार
610
Shares
गण्डकी । पदयात्राका लागि विश्वभर प्रख्यात अन्नपूर्ण क्षेत्रमा पछिल्ला २५ वर्षमा २६ लाख ३२ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को तथ्यांक अनुसार सन् २००१ मा ६५ हजारको हाराहारीमा रहेका पर्यटकको संख्या सन् २०२५ मा आइपुग्दा अहिलेसम्मकै बढी अर्थात् झन्डै ३ लाख पुगेको छ।
यस बीचमा सन् २०२१ मा कोरोना महामारीका कारण सबैभन्दा कम १६ हजार पर्यटकले मात्र यो क्षेत्रको भ्रमण गरेका थिए। सन् २०११ को नेपाल भ्रमण वर्षमा पहिलोपटक पर्यटकको संख्या १ लाख नाघेको थियो भने सन् २०१५ को भूकम्पले फेरि आगमनमा केही गिरावट ल्याएको थियो। तर सन् २०२२ पछि भने पर्यटकको संख्यामा लगातार उल्लेख्य सुधार आएको देखिन्छ।
गत वर्ष सन् २०२५ मा अन्नपूर्ण क्षेत्रले पर्यटक आगमनमा नयाँ कीर्तिमान कायम गरेको छ। 'एक्याप' का प्रमुख डा. रबिन कडरियाले दिएको जानकारी अनुसार गत वर्ष भित्रिएका करिब ३ लाख पर्यटकमध्ये दक्षिण एसियाली मुलुकका पर्यटकको हिस्सा ठूलो रहेको छ।
पदयात्रामा रमाउनेदेखि लिएर मुक्तिनाथ जस्ता धार्मिक स्थलको दर्शन गर्न आउने पर्यटकका कारण यो क्षेत्र सधैँ गुल्जार रहने गरेको उनले बताए। अन्नपूर्ण चक्रिय पदमार्ग अन्तर्गतका अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, तिलिचो ताल र उपल्लो मुस्ताङ जस्ता गन्तव्यले विश्वभरका पदयात्रीलाई आकर्षित गरिरहेका छन्।
प्राकृतिक सौन्दर्य, जैविक विविधता र हिमाली जनजीवनका कारण अन्नपूर्ण क्षेत्र पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ। कास्की, लमजुङ, मनाङ र म्याग्दी जस्ता जिल्लाबाट सुरु हुने विभिन्न दुरीका पदमार्गहरूले पर्यटकलाई छनोटको सुविधा दिएका छन्। ७ हजार ६०० वर्ग किलोमिटरमा फैलिएको यो संरक्षण क्षेत्रमा १५ वटा स्थानीय तहका ८७ वटा वडाहरू समेटिएका छन्। पर्यटनमैत्री पूर्वाधार र स्थानीयवासीको न्यानो आतिथ्यताले गर्दा अन्नपूर्ण चक्रीय पदमार्ग विश्वकै उत्कृष्ट पदमार्गहरूमध्ये एक मानिन्छ। 'एक्याप' ले बाह्य पर्यटकको मात्र तथ्यांक राख्ने गरे पनि यो क्षेत्रमा आन्तरिक पर्यटकको चाप पनि उत्तिकै बढ्दो छ।