रवि लामिछानेको कार्यक्रमअघि रास्वपालाई प्रशासनको चेतावनी, नियम मिचे कारबाही हुने
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २७ मंगलबार
823
Shares
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न कडा ध्यानाकर्षण गराएको छ। आज जिल्ला सदरमुकाम परासीमा पार्टी सभापति रवि लामिछानेको 'जनसम्पर्क तथा घण्टी अभिवादन' कार्यक्रम रहेको सूचना पाएपछि प्रशासनले आचारसंहिता विपरीतका गतिविधि नगर्न सचेत गराएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी एवं आचारसंहिता अनुगमन अधिकृत पोषनराज भण्डारीले आगामी फागुन २१ को निर्वाचनका लागि आचारसंहिता लागू भइसकेकाले निर्वाचनलाई मर्यादित बनाउन यस्तो कदम चालिएको बताए। उनले प्रशासनले कार्यक्रम गर्न रोक नलगाएको तर राजनीतिक दल वा उम्मेदवारको चिह्न अङ्कित ज्याकेट, टोपी, झोला वा अन्य साङ्केतिक सामग्री प्रदर्शन गर्न नपाइने स्पष्ट पारे।
यसअघि विभिन्न जिल्लामा भएका रवि लामिछानेका कार्यक्रमहरूमा कार्यकर्ताहरू घण्टी बजाउँदै र पार्टीका ब्याचहरू लगाएर हिँडेका दृश्यहरू सामाजिक सञ्जालमा देखिएका थिए। त्यस्ता गतिविधिले निर्वाचन आचारसंहिताको उल्लंघन हुने भन्दै अनुगमन अधिकृत भण्डारीले उम्मेदवार वा अन्य कसैले पनि नियम विपरीत काम गर्न नहुनेमा जोड दिए। निर्वाचन आयोगले २०८२ साल माघ १४ गते नै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता लागू गरिसकेको उनले स्मरण गराए। नियम उल्लंघन भएको पाइएमा कानुन बमोजिम कारबाही हुने चेतावनी समेत प्रशासनले दिएको छ।
प्रशासनद्वारा जारी ध्यानाकर्षण पत्रमा माघ २७ गते हुने भनिएको रास्वपाको कार्यक्रममा आचारसंहिता आकर्षित हुने कुनै पनि काम नगर्न र नगराउन सम्बन्धित सबैलाई जानकारी गराइएको छ। विशेष गरी सार्वजनिक स्थलमा दलको प्रचार सामग्रीको प्रयोग र भड्किलो प्रदर्शनमा रोक लगाइएको छ। निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरूले गर्ने यस्ता शक्ति प्रदर्शन र सभाहरूमा आचारसंहिताको पालना गराउन प्रशासनले सक्रियता बढाएको छ। यस निर्णयले चुनावी अभियानलाई थप अनुशासित बनाउने अपेक्षा गरिएको छ।