arrow

आर्थिक वृद्धिदर लक्ष्यभन्दा निकै कम, मुद्रास्फीतिमा भने सुधार

आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने सरकारको प्रक्षेपण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २८ बुधबार
finance-new.jpg

काठमाडौँ । सरकारले मुलुकको आर्थिक वृद्धिदर लक्ष्यभन्दा निकै कम अर्थात् ३.५ प्रतिशतमा सीमित हुने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा गर्दै सरकारले सुरुमा ६ प्रतिशतको वृद्धिदर हुने अनुमान गरे पनि अहिले त्यसलाई संशोधन गरेको हो।

धानको उत्पादन र उत्पादकत्वमा आएको कमी, निर्माण क्षेत्रको सुस्तता तथा घरजग्गा कारोबारमा देखिएको गिरावटलाई वृद्धिदर खुम्चिनुको मुख्य कारण मानिएको छ। गत आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ४.६ प्रतिशत रहेको अनुमान गरिएको थियो।

बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा ३ प्रतिशतले वृद्धि भएको प्रारम्भिक अनुमान छ। यस अवधिमा कृषि क्षेत्रको विस्तार १.३६ प्रतिशतले मात्र हुने देखिएको छ, जसमा विशेष गरी धानको उत्पादन घट्नुलाई कारक मानिएको छ।

यद्यपि, मकै, कोदो र फापर जस्ता खाद्यान्न बालीको उत्पादन भने बढ्ने अनुमान गरिएको छ। उद्योग क्षेत्रतर्फ भने केही सकारात्मक संकेत देखिएको छ, जहाँ पहिलो त्रैमासमा ५.४४ प्रतिशतको विस्तार हुने अनुमान छ। ऊर्जा र निर्माण क्षेत्रका क्रियाकलापमा हुने सुधारले समग्र उद्योग क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा सरकारको छ।

सेवा क्षेत्रको विस्तार ३.०३ प्रतिशतले हुने अनुमान गरिएको छ, जसमा थोक तथा खुद्रा व्यापार, पर्यटकीय गतिविधि र वित्तीय मध्यस्थता जस्ता क्षेत्रले योगदान पुर्‍याउने देखिएको छ। अर्कोतर्फ, आम उपभोक्ताका लागि राहतको कुरा भनेको मुद्रास्फीतिमा आएको सुधार हो।

प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनाको औसत मुद्रास्फीति १.७ प्रतिशतमा झरेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा यो झन्डै ५ प्रतिशत रहेको थियो। सरकारले बाँकी अवधिमा राजस्व परिचालन र लगानीलाई प्रतिफलयुक्त क्षेत्रमा केन्द्रित गर्दै अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य राखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ