arrow

साढे दुई अर्ब बराबरको अवैध हुण्डी कारोबारको आरोपमा प्रशान्त गुप्ता पुर्पक्षका लागि जेल चलान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २८ बुधबार
prasanta-gupta-82-10-28ww.jpg

वीरगञ्ज । संगठित रूपमा हुण्डी तथा सम्पत्ति शुद्धीकरण कारोबारमा संलग्न रहेको अभियोगमा पर्सा जिल्ला अदालतले एक युवकलाई आज पुर्पक्षका लागि कारागार चलान गरेको छ। 

अदालतको आदेशअनुसार वीरगञ्ज महानगरपालिका–१ निवासी ३२ वर्षीय प्रशान्तकुमार गुप्तालाई थुनामा पठाइएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकका अनुसार गुप्तामाथि करिब साढे दुई अर्ब रुपैयाँ बराबरको अवैध आर्थिक कारोबार गरेको आरोप छ ।

प्रहरी अनुसन्धानबाट गुप्ताले भारतको रक्सौलबाट अवैध रूपमा नेपाली रुपैयाँ हुण्डीमार्फत नेपाल भित्र्याउने गरेको खुलासा भएको हो। यसरी ल्याइएको रकम उनले विभिन्न बैंक खाताहरूमा जम्मा गर्ने र त्यहाँबाट अन्य व्यक्तिहरूको खातामा चेक तथा फोनपे मार्फत स्थानान्तरण गरी स्रोत लुकाउने प्रयास गरेको पाइएको प्रहरीले जनाएको छ । 

एसपी पाठकका अनुसार अभियुक्तले गैरकानूनी रूपमा आर्जित सम्पत्तिलाई वैध देखाउन संगठित ढंगले ‘लेयरिङ’ गरी सम्पत्तिको प्रकृति परिवर्तन गर्ने कार्य गरेको र सम्पत्ति शुद्धीकरण जस्तो गम्भीर वित्तीय अपराधमा संलग्न रहेको देखिएको छ।

यस प्रकरणमा कुल बिगो २ अर्ब ४१ करोड ७८ लाख २३ हजार ३ सय ७८ रुपैयाँ कायम गरिएको छ। पक्राउ परेका गुप्ताको हकमा मात्र १ अर्ब ७९ करोड २१ लाख १५ हजार ८ सय १ रुपैयाँ बिगो दाबी गरिएको छ ।

अनुसन्धानका क्रममा प्रहरीले उनीबाट ३३ लाख ५९ हजार २ सय ५५ रुपैयाँ नगद समेत बरामद गरेको थियो । २०८२ साल पुस १७ गते पक्राउ परेका गुप्तालाई अनुसन्धान सम्पन्न गरी अदालतमा पेस गरिएको थियो । 

जिल्ला अदालत पर्साले माघ २८ गतेको आदेशमार्फत उनलाई पुर्पक्षका लागि कारागार पठाउने निर्णय गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ