arrow

आणविक वार्तामा पश्चिमा मुलुक बाधक: इरानी राष्ट्रपति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २९ बिहिबार
iran-maps.jpg

काठमाडौँ । इरानका राष्ट्रपति मसुद पेजेस्कियनले पश्चिमा मुलुक र अमेरिकाले अत्यधिक कडा माग गरेका कारण तेहरान र वासिङ्टनबीचको आणविक वार्तामा अवरोध पुगेको बताएका छन्।

सन् १९७९ को इस्लामिक क्रान्तिको ४७ औँ वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले वार्ताको प्रगतिमा इरान बाधक नभएको दाबी गरे। पेजेस्कियनले वार्ता सफल नहुनुको सम्पूर्ण दोष पश्चिमा गठबन्धनलाई दिँदै इरानले आणविक हतियारको खोजी नगरेको र कुनै पनि प्रकारको प्रमाणीकरणका लागि आफूहरू तयार रहेको जिकिर गरे।

राष्ट्रपति पेजेस्कियनले क्षेत्रीय समस्याहरूको समाधान विदेशी शक्तिले नभई यस क्षेत्रका देशहरूले मात्र गर्न सक्ने कुरामा जोड दिए। उनले इरानले कहिल्यै पनि कसैको अत्यधिक माग र आक्रामकताका अगाडि आत्मसमर्पण नगर्ने स्पष्ट पारेका छन्।

इरान इमानदारिताका साथ कूटनीतिको बाटोमा हिँडिरहेको र क्षेत्रीय शान्ति सुनिश्चित गर्न पश्चिम एसियाका देशहरूसँग निरन्तर संवाद गरिरहेको उनको भनाइ थियो।

देशमा हालै देखिएको अशान्तिका बारेमा बोल्दै पेजेस्कियनले आफ्नो प्रशासनले जनताका समस्या समाधानका लागि हरसम्भव प्रयास गरिरहेको बताए। उनले वर्तमान अवस्थामा इरानलाई आन्तरिक एकताको सबैभन्दा बढी आवश्यकता रहेको उल्लेख गरे।

साथै, घरेलु आर्थिक विकासलाई गति दिन इरानले अन्तर्राष्ट्रिय बजार, विशेष गरी छिमेकी र मुस्लिम राष्ट्रहरूको बजारमा पहुँच बनाउनुपर्नेमा उनले जोड दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ