arrow

दुई दिवसीय 'महाशिवरात्रि महोत्सव २०८२' सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ३ आइतबार
1000113334.jpg

काठमाडौँ । मानव धर्म सेवा समितिले काठमाडौंको गौशालास्थित केन्द्रीय कार्यालय प्राङ्गणमा दुई दिवसीय 'महाशिवरात्रि महोत्सव २०८२' भव्यताका साथ सम्पन्न गरेको छ। शनिबार र आइतबार आयोजित उक्त महोत्सवको पहिलो दिन विभिन्न आत्मानुभवी महात्मा, बाईजीहरूले आफ्ना ओजस्वी आध्यात्मिक विचारहरू राखेका थिए। सोही दिन समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा समितिका सदस्य तथा अन्य स्वयंसेवकहरूको सक्रिय सहभागितामा एक सय नौ युनिट रगत सङ्कलन गरिएको थियो।

महोत्सवको दोस्रो दिन आइतबार अन्तर्राष्ट्रिय आध्यात्मिक व्यक्तित्व श्री विभूजी महाराजजीले मानव जीवनमा अध्यात्मको महत्त्व र जीवनलाई सहज बनाउने उपायहरूबारे गहिरो मार्गदर्शन दिए। उनले जीवनमा सुख र दुःखका प्रभावहरू प्राकृतिक हुने उल्लेख गर्दै मानिस प्रायः विगतका दुःखद स्मृतिहरूमा अल्झिरहने प्रवृत्तिलाई त्याग्नुपर्नेमा जोड दिए। हामीले द्वैतको सङ्घर्षपूर्ण जिन्दगीबाट माथि उठेर अद्वैततर्फ लाग्नुपर्ने बताउँदै उनले संसार बदल्न प्रेमको आवश्यकता पर्ने र नकारात्मक विचारहरूलाई नहटाएसम्म नयाँ अनुभव प्राप्त गर्न नसकिने प्रष्ट पारे। उनले आफूले आफैँलाई जान्ने कला नै सबैभन्दा ठूलो ज्ञान भएको र जसले स्वयंलाई बुझ्न सक्यो, उसलाई संसारमा अरू केही जान्न बाँकी नरहने बताए।

उनले भने,"जीवनमा प्रभाव सुख र दुखका हुन्छन् । हामी अतितकै प्रभावमा जोडिएको छौ । जुन कुराले हामीलाई प्रसन्न र खुशी र प्रसन्न बनाउँछ त्यसलाई हामी बारम्बार सम्झँदैनौ । तर जुन विषयले हामीलाई दुःख दिएको थियो त्यसलाई दोहोर्‍याउँछौ । त्यसले हामीलाई  त्यसै तर्फ लिएर जान्छ ।  हामी संसारमा आएका छौ र द्वैतको जिन्दगीमा बाचिरहेका छौँ । त्यो द्वैतबाट सङ्घर्ष गरेर अद्वैत तर्फ जान सङ्घर्ष गर्नुपर्छ ।"

विभूजी महाराजजीले मोह र खिचातानीका बीचमा बसेर निर्वाण प्राप्त गर्न कठिन हुने भएकाले जीवनका स-साना कुराहरूमा खुसी खोज्न र हरेक कार्य मनको पवित्रताका साथ गर्न सबैलाई प्रेरित गरे। उनले मानवभित्रै रहेको चैतन्य र 'सत्-चित्-आनन्द'लाई खोज्नुपर्ने बताउँदै 'अहम् ब्रह्मास्मि' अर्थात् म नै ब्रह्म हुँ भन्ने आध्यात्मिक बोधको व्याख्या गरे। आफूभित्र खुसी हुन सकेमा बाहिरी संसारका समस्याहरूले मानिसलाई विचलित पार्न नसक्ने उनको भनाइ थियो।

 उनले  भने," हामीले मोहलाई बाधेका छौँ यस खिचातानीमा रहेर हामी बुद्ध जस्तो निर्वाण प्राप्त गर्न चाहन्छौँ ।  तर मोहले हामीलाई त्यो हुन दिँदैन । त्यसैले जीवनमा स साना कुरामा खुशी हुन सिक्नुहोस् । जो चिज गर्दै हुनुहुन्छ प्रसन्नताका साथ गर्नुहोस् । मनको पवित्रका साथ गर्नुहोस् । जीवनमा खुशी बाँड्न सिक्नुहोस् । तपाई सँग चैतन्य छ । आफू भित्र खुशी हुन सके बाहिरको कुराले तपाईँलाई छुने छैन ।  आफ्नो सत्-चित्-आनन्दलाई खोज्नुस् । अहम् ब्रह्मास्मि म मै ब्रह्म हु ।"

सत्सङ्ग कार्यक्रममा बोल्दै समितिकी केन्द्रीय प्रभारी महात्मा चमेली बाईजीले शिवरात्रिमा आफ्नै हृदयमा विराजमान प्राणेश्वरको ध्यान गर्नुपर्ने बताइन्। उनले सद्गुरुले प्रदान गरेको सेवा, सत्सङ्ग र नामको सुमिरन नै कलियुगमा मुक्तिको मुख्य आधार भएको उल्लेख गरिन्। मानव धर्मले विश्व बन्धुत्वको शिक्षा दिने चर्चा गर्दै उनले हृदयको अन्धकाररूपी अज्ञानतालाई शिवशक्तिरूपी प्रकाशले हटाउनुपर्ने र मानव शरीरलाई नै शिवको मन्दिरका रूपमा बुझ्नुपर्नेमा जोड दिइन्। अशान्त मनलाई केवल अध्यात्म र वैराग्यले मात्र शान्त बनाउन सक्ने उनको तर्क थियो।

उनले भनिन्, "सद्गुरुले हामीलाई चार प्रहरको मन्त्र दिनुभयो । सेवा सतसंग नामको मौका दिएर  गुरुले ब्रह्मा विष्णु र महेशको काम गर्नुहुन्छ। मानव धर्मले विश्व बन्धुत्वको शिक्षा दिन्छ ।  कलियुगमा नामको सुमिरन नै आधार हो । रामायणमा सतसंग नाम र ज्ञानको महिमा पाउँछौ । भगवान् शिवले महामन्त्रको सुमिरण गर्नुभयो । काशीमा गएर भक्तहरूलाई मुक्तिको उपदेश दिए ।  हृदयमा अन्धकाररूपी अज्ञानतालाई प्रकाशरूपी शिव शक्तिले हटाउनुपर्छ। शिव भने हाम्रो आत्मा हो। मानव शरीर नै शिवको मन्दिर हो। सम्पूर्ण ब्रह्माण्डका स्रष्टा स्वयं हाम्रो हृदयमा विराजमान छन्।"

महोत्सवको समापनका क्रममा सन्त महात्माहरूले ज्ञान, भक्ति र कर्मको त्रिवेणीद्वारा मानव जीवनलाई सहज र आनन्ददायक बनाउनुपर्ने सन्देश दिए। संसारभर अकाल मृत्युको त्रास फैलिरहेको अवस्थामा नामको सुमिरन गर्ने भक्तहरूको नै कल्याण हुने बताए। सो अवसरमा भजन, नृत्य तथा विभिन्न रोचक सांस्कृतिक कार्यक्रमहरू समेत प्रस्तुत गरिएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ