निर्वाचन प्रयोजनका लागि छ सय ७१ उम्मेद्वारले खोले बैंक खाता [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ४ सोमबार
682
Shares
काठमाडौँ । निर्वाचन प्रचार-प्रसारका लागि आवश्यक रकम व्यवस्थापन गर्न हालसम्म छ सय ७१ जना उम्मेद्वारले बैंक खाता खोलेका छन्।
कुल तीन हजार चार सय छ जना उम्मेद्वारमध्ये यो संख्या करिब २० प्रतिशत मात्र रहेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
आयोगले राजनीतिक दल तथा उम्मेद्वारहरूले प्रचारप्रसारका लागि आवश्यक रकम अनिवार्य रूपमा बैंक खातामार्फत जम्मा र खर्च गर्नुपर्ने व्यवस्था गरेको छ।
सोही व्यवस्थाअनुसार आयोगको अनुरोधमा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई उम्मेदवारको खाता खोल्न सहजीकरण गर्न परिपत्र जारी गरेको प्रवक्ता भट्टराईले बताए।
हाल देशभर राजनीतिक दल र उम्मेद्वारहरूले बैंक खाता खोल्ने प्रक्रिया अघि बढाइरहेका छन्।
खाता खोल्ने क्रममा देखिएका समस्याबारे बैंक तथा वित्तीय संस्थाबाट जानकारी संकलन गरी आयोगले आवश्यक सहजीकरण गर्ने उनले स्पष्ट पारे।
यसै सन्दर्भमा खोलिएका खाताको सञ्चालन प्रयोजन, व्यवस्थापन प्रक्रिया तथा बैंकहरूले निर्वाह गर्नुपर्ने भूमिकाबारे स्पष्टता दिन आयोगले सोमबार छलफल कार्यक्रम आयोजना गरेको थियो।
छलफलमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर तथा अर्थ मन्त्रालयका सम्बन्धित सहसचिवको उपस्थिति रहेको जनाइएको छ।
बैंक तथा वित्तीय संस्थाहरूले निर्वाचन खर्च पारदर्शी र व्यवस्थित बनाउन लागू गरिएको बैंक खाता प्रणालीमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रवक्ता भट्टराईले बताए।
वित्तीय सुशासन कायम गर्ने सन्दर्भमा आयोगको अपेक्षाअनुसार सहयोग गर्ने आश्वासन बैंक तथा वित्तीय संस्थाबाट प्राप्त भएको उनको भनाइ छ।
यसैगरी, मतदाता शिक्षालाई प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थाले सञ्चालन गर्ने मोबाइल एप, एटीएम मेसिन तथा अन्य डिजिटल डिस्प्लेमा मतदाता शिक्षा सामग्री समावेश गर्न आयोगले अनुरोध गरेको छ।
यस विषयमा बैंक तथा वित्तीय संस्थाहरू सकारात्मक रहेको जानकारी दिइएको छ।