इन्सेकको प्रतिवेदन : मानव अधिकार उल्लङ्घन र हिंसाका घटनामा वृद्धि
राज्यपक्षबाटै अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश र हिरासतमा दुव्र्यवहार
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ७ बिहिबार
690
Shares
काठमाडौँ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले 'नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६' सार्वजनिक गर्दै मुलुकमा मानव अधिकार उल्लङ्घन र हिंसाका घटनामा वृद्धि भएको बताएको छ।
बिहीबार प्रजातन्त्र दिवसको अवसर पारेर सातै प्रदेशबाट एकैसाथ सार्वजनिक गरिएको उक्त पुस्तकबारे जानकारी दिँदै इन्सेकका अध्यक्ष विजयराज गौतमले समग्रमा मानव अधिकारको अवस्था चुनौतीपूर्ण बन्दै गएको उल्लेख गरे। सन् २०२५ को तथ्याङ्क अनुसार पारिवारिक विवादका कारण मात्रै देशभर १०३ जनाको हत्या भएको र दाइजोका कारण १४४ जना महिलामाथि हिंसा भएको गम्भीर प्रतिवेदन पुस्तकमा समेटिएको छ।
इन्सेकको अभिलेख अनुसार बाल अधिकार उल्लङ्घन तथा ज्यादतीबाट पीडित हुनेहरूको सङ्ख्या १ हजार ३ सय ४९ पुगेको छ भने पेसागत आधारमा ११ हजार ५ सय ३८ जना पीडित भएको देखिएको छ। अध्यक्ष गौतमका अनुसार सन् २०२६ को हालसम्म मात्रै ११ हजार ५ सय ३८ वटा मानव अधिकार उल्लङ्घनका घटनाहरू दर्ता भइसकेका छन्।
हत्या, हिंसा, दाइजो र बालबालिकामाथि हुने यौन हिंसाका घटनाहरू निरन्तर बढिरहेको उल्लेख गर्दै उनले विगत तीन दशकदेखि प्रकाशित हुँदै आएको यो दस्तावेज नेपालमा मानव अधिकारको सबैभन्दा विश्वसनीय स्रोतको रूपमा स्थापित भएको दाबी गरे।
यस वर्षको प्रतिवेदनमा इन्सेकले राज्यपक्षबाटै मानव अधिकारको गम्भीर उल्लङ्घन भइरहेको आरोप समेत लगाएको छ। सन् २०२५ मा भएका गैरकानूनी गिरफ्तारी, हिरासतभित्रको दुव्र्यवहार, थुनामा रहेका व्यक्तिको मृत्यु र अभिव्यक्ति स्वतन्त्रतामाथि लगाइएको अङ्कुशले राज्यपक्ष अझै पनि मानव अधिकार रक्षाप्रति संवेदनशील हुन नसकेको इन्सेकको जिकिर छ। प्रतिवेदनले विशेषगरी राज्यको प्रशासनिक र सुरक्षा अङ्गहरूबाट हुने ज्यादतीले नागरिकको स्वतन्त्रता खुम्चिँदै गएको तर्फ सचेत गराएको छ।