arrow

आइतबारसम्मको समय

चुनावी खर्चमा आयोगको कडाइ: उम्मेदवारलाई तत्काल बैंक खाता खोल्न निर्देशन

पारदर्शी खर्चका लागि बैंक खाता अनिवार्य, ढिलाइ नगर्न निर्वाचन आयोगको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ८ शुक्रबार
election-commision-09-13.jpg

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभाका उम्मेदवारहरूलाई चुनावी प्रचारप्रसारका लागि आवश्यक बैंक खाता खोल्ने कार्यमा ढिलाइ नगर्न कडा ताकेता गरेको छ। शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगले निर्वाचन आचारसंहिता अनुसार सम्पूर्ण चुनावी खर्च सोही खातामार्फत गर्नुपर्ने व्यवस्था रहेकाले अझै खाता नखोलेका उम्मेदवारहरूलाई सचेत गराएको हो।

आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसका अनुसार सार्वजनिक बिदाका कारण केही उम्मेदवारलाई खाता खोल्न असहज भएको देखिए पनि अब यसलाई थप ढिला गर्न मिल्ने छैन। आयोगले बैंकका सिइओहरूसँग समन्वय गरी उम्मेदवारहरूलाई खाता खोल्ने प्रक्रियामा सहजीकरण गर्न निर्देशन दिइसकेको समेत जानकारी दिएको छ।

सहायक प्रवक्ता श्रीसले निर्वाचन प्रचारप्रसारको समय फागुन ४ गतेबाट सुरु हुने भएकाले सोही मितिदेखि नै सबै आर्थिक कारोबार बैंकमार्फत होस् भन्ने आयोगको उद्देश्य रहेको बताइन्। उनले भनिन्, "हामीले निर्वाचन बैंक खाता र घोषणापत्र कार्यान्वयनलाई विशेष प्राथमिकता दिएका छौँ। उम्मेदवारहरू चुनावी मैदानमा होमिसक्नुभएको छ, त्यसैले खर्चको पारदर्शिताका लागि यो अनिवार्य छ।"

उम्मेदवारहरूले बैंक खाता खोल्नका लागि जिल्ला वा प्रदेश निर्वाचन कार्यालयबाट सिफारिस लिनुपर्ने व्यवस्था गरिएको छ। यसो गर्नुको मुख्य कारण भविष्यमा निर्वाचन खर्चको विवरण जाँचबुझ गर्न सजिलो होस् र स्थायी रेकर्ड रहोस् भन्ने रहेको आयोगले स्पष्ट पारेको छ।

आयोगले फागुन ३ गतेभित्रै खाता खोलिसक्न अपेक्षा गरे पनि धेरै बिदा परेका कारण केही दिन ढिलाइ भएको स्वीकार गरेको छ। "आज शुक्रबार परेकाले आगामी आइतबार वा सोमबारसम्ममा धेरैजसो उम्मेदवारहरूले खाता खोलिसक्नुहुनेछ भन्ने हाम्रो अपेक्षा छ," श्रीसले थपिन्।

निर्वाचन आचारसंहिता अनुसार उम्मेदवारले गर्ने हरेक खर्च पारदर्शी हुनुपर्ने र त्यसको लेखापरीक्षण बैंक स्टेटमेन्टका आधारमा गरिने भएकाले यो व्यवस्थालाई कडाइका साथ लागू गर्न लागिएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ