गृहमन्त्रीले गरे काठमाडौँ र मकवानपुरको मतदानस्थलको अनुगमन
सामाजिक सञ्जालको भ्रमबाट जोगिन आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ९ शनिबार
687
Shares
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने विश्वास दिलाएका छन्। आज काठमाडौँ र मकवानपुरका विभिन्न मतदान केन्द्रहरूको स्थलगत निरीक्षण तथा अनुगमनका क्रममा उनले यस्तो बताए।
गृहमन्त्री अर्यालले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सफल बनाउन आम नागरिकको सक्रियता अपरिहार्य रहेको उल्लेख गरे। सरकारका प्रवक्तासमेत रहेका मन्त्री अर्यालले निर्वाचनको समयमा सामाजिक सञ्जालमा फैलिने गलत, मिथ्या र भ्रामक सूचना तथा दुष्प्रचारबाट सचेत रहन सबैमा आग्रह गरे। उनले यस्ता भ्रममा नपरी आ–आफ्नो निर्वाचन क्षेत्रको तयारीमा जुट्न सम्बन्धित सबै पक्षलाई अनुरोध गरे।
अनुगमनका क्रममा मन्त्री अर्यालसहित गृह सचिव राजकुमार श्रेष्ठ, सुरक्षा समन्वय महाशाखा प्रमुख आनन्द काफ्ले, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा लगायतको टोलीले दक्षिणकाली नगरपालिका–९, फर्पिङस्थित सेतीदेवी माविको मतदान केन्द्रको निरीक्षण गरेको थियो।
यसैगरी, मन्त्री अर्यालले कीर्तिपुरस्थित सशस्त्र प्रहरी बलको दङ्गा नियन्त्रण रेजिमेन्ट गणको अनुगमन गर्दै जिल्लाको समग्र सुरक्षा व्यवस्थाबारे जानकारी लिए। उनले सुरक्षाकर्मीहरूलाई उच्च सतर्कताका साथ परिचालन हुन र निर्वाचन सुरक्षामा कुनै सम्झौता नगर्न निर्देशन दिए।
काठमाडौँपछि मन्त्री अर्यालको टोलीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका मतदान केन्द्रहरूको पनि अनुगमन गर्यो। सो क्रममा जिल्ला सुरक्षा समितिका पदाधिकारी र गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीसँग निर्वाचन सुरक्षाबारे छलफल भयो। टोलीले इन्द्रसरोवर नगरपालिकाको प्रहरी चौकी निरीक्षण गरी दुई जिल्लाको सीमा क्षेत्रको सुरक्षा अवस्थाबारे 'ब्रिफिङ' समेत लियो।