तेहरानमा इजरायली र अमेरिकी भीषण आक्रमण, खामेनीसहित परिवारै मारिएको दाबी
इजरायल र दुबईसहित नौ देशका अमेरिकी ठेगानामा मिसाइल वर्षा
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १७ आइतबार
2.6k
Shares
काठमाडौँ । इरानी सञ्चारमाध्यम तस्निम र फार्स न्यूज एजेन्सीले इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको निधन भएको पुष्टि गरेका छन्। इजरायली आक्रमणमा खामेनीकी छोरी, ज्वाइँ, नातिनी र बुहारीको समेत मृत्यु भएको दाबी गरिएको छ। यद्यपि, इरान सरकारले यसबारे अहिलेसम्म कुनै औपचारिक आधिकारिक जानकारी भने दिएको छैन।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'ट्रुथ सोसल' मा पोस्ट गर्दै खामेनीको मृत्यु भएको दाबी गरेका थिए। ट्रम्पले लेखेका छन्, "इतिहासकै क्रूर व्यक्तिमध्येका एक खामेनी मारिएका छन्। यो इरानी जनताका साथै अमेरिका र विश्वभरका देशहरूका लागि न्याय हो।"
यसैबीच, इजरायली अधिकारीहरूले सीएनएनसँग कुरा गर्दै मलबेबाट खामेनीको शव बरामद गरिएको र आफूहरूसँग त्यसको तस्बिर रहेको दाबी गरेका छन्। इजरायल र अमेरिकाको संयुक्त आक्रमणमा खामेनीको निवास पूर्ण रूपमा ध्वस्त भएको छ।
शनिबार राति इरानको राजधानी तेहरानसहित १० ठुला सहरहरूमा अमेरिका र इजरायलले भीषण हमला गरेका थिए। इरानको रेड क्रिसेन्ट सोसाइटीका अनुसार यी आक्रमणमा परी हालसम्म २०० भन्दा बढीको मृत्यु भइसकेको छ भने ७४० भन्दा बढी घाइते भएका छन्। इरानको एक विद्यालयमा मिसाइल खस्दा ८५ छात्राको मृत्यु भएको र ४५ जना घाइते भएको दुःखद खबर पनि सार्वजनिक भएको छ।
आफूमाथि भएको आक्रमणको जवाफमा इरानले पनि ड्रोन र मिसाइलमार्फत इजरायलसहित मध्य–पूर्वका ९ देशहरूलाई निशाना बनाएको छ। इरानले इजरायलमाथि करिब ४०० मिसाइल प्रहार गरेको छ।
साथै, कतार, कुवेत, जोर्डन, बहराइन, साउदी अरब र युएईमा रहेका अमेरिकी सैन्य ठेगानाहरूमा पनि इरानले आक्रमण गरेको छ।
इरानले दुबईको 'पाम होटल एन्ड रिसोर्ट' र 'बुर्ज खलिफा' नजिकै ड्रोन हमला गर्नुका साथै बहराइनका आवासीय भवनहरूलाई समेत निशाना बनाएको समाचारमा उल्लेख छ।