आणविक सुरक्षामा विश्वको ध्यान: इरानका परमाणु केन्द्रहरू सुरक्षित रहेको आइएइएको दाबी
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १९ मंगलबार
2.4k
Shares
काठमाडौँ । इरानमा अमेरिका र इजरायलको आक्रमणपछि त्यहाँका कुनै पनि आणविक प्रतिष्ठानमा क्षति पुगेको संकेत नभेटिएको अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय आइएइएका प्रमुख राफेल ग्रोसीले बताएका छन्। संयुक्त राष्ट्रसंघको आणविक निगरानी संस्थाका प्रमुख ग्रोसीले सोमबार यस्तो जानकारी दिएका हुन्।
यसअघि आइएइएका लागि इरानी प्रतिनिधि रेजा नाजाफीले इरानको प्रमुख आणविक स्थल 'नातान्ज' मा आक्रमण भएको दाबी गरेका थिए। इरानसम्बन्धी निकायको ‘बोर्ड अफ गभर्नर’ को असाधारण सत्रलाई सम्बोधन गर्दै ग्रोसीले सबै पक्षलाई तनाव बढ्न नदिन र अधिकतम संयम अपनाउन आग्रह गरे।
ग्रोसीले इरानका महत्वपूर्ण आणविक केन्द्रहरूको अवस्थाबारे प्रस्ट पार्दै भने, “अहिलेसम्म हामीसँग बुशहर आणविक ऊर्जा संयन्त्र, तेहरान रिसर्च रिएक्टर वा अन्य आणविक इन्धन चक्र सुविधाहरू सहित कुनै पनि परमाणु प्रतिष्ठान क्षतिग्रस्त भएको वा प्रभावित भएको संकेत छैन।” आइएइएले इरानी आणविक नियामक अधिकारीहरूसँग सम्पर्क गर्ने प्रयास गरिरहेको र सञ्चारको यो मार्ग छिट्टै पुनः स्थापित हुने आशा उनले व्यक्त गरे।
नातान्ज आणविक स्थलमा आक्रमण भएको दाबी गर्दै अमेरिकाले इरानमाथि परमाणु बम बनाउन खोजेको आरोपलाई ‘आक्रमणको बहाना’ मात्र भएको टिप्पणी समेत गरिएको छ। इरानको आणविक ऊर्जा संगठनका प्रमुखले महानिर्देशकलाई पत्र पठाएर नातान्जमा आक्रमण भएको जानकारी गराएपछि ग्रोसीले यसबारे थप स्पष्ट पारेका हुन्।
ग्रोसीले सोमबार राति आयोजित पत्रकार सम्मेलनमा भने, “हामीले उनीहरूको सुविधाहरूलाई लक्षित गरी ठूलो सैन्य गतिविधि भएको देखेका छैनौँ। विभिन्न स्याटेलाइट तस्बिरहरू हेर्दा त्यहाँ केही भएको हुन सक्छ, तर अघिल्लो पटकको भन्दा कुनै पनि हिसाबले ठूलो वा तुलनात्मक भिन्नता देखिएको छैन।”
गत वर्ष जुन महिनामा भएको १२ दिने युद्धका क्रममा इजरायल र अमेरिकाले नातान्ज लगायतका प्रमुख केन्द्रहरूमा आक्रमण गरेका थिए। त्यसयता आइएइएका निरीक्षकहरूलाई ती स्थानको भ्रमण गर्न अनुमति दिइएको छैन। हाल इरानमा यस निकायका कुनै पनि निरीक्षक नभएको र आक्रमण सुरु भएदेखि इरानसँगको कुराकानी निकै सीमित भएको ग्रोसीले बताए।
ग्रोसीले मध्यपूर्वको वर्तमान अवस्थालाई ‘धेरै चिन्ताजनक’ भनी टिप्पणी गरेका छन्। इरान र यस क्षेत्रका अन्य देशहरूसँग आणविक ऊर्जा प्लान्ट, अनुसन्धान रिएक्टर र इन्धन भण्डारण स्थलहरू रहेकाले सैन्य आक्रमणले आणविक सुरक्षामा ठूलो खतरा बढाएको उनले उल्लेख गरे। उनले कूटनीतिक वार्ता जतिसक्दो चाँडो पुनः सुरु गर्न आह्वान समेत गरे।
गत महिना जेनेभामा इरान र अमेरिकाबीच भएको आणविक वार्तामा कुनै समझदारी हुन नसकेकोमा ग्रोसीले निराशा व्यक्त गरे। तेहरानको प्रमुख सहयोगी रुसको अनुरोधमा भियनास्थित निकायको यो असाधारण बैठक बोलाइएको थियो। अमेरिका र इजरायलले इरानले आणविक हतियार बनाउन खोजेको आरोप लगाउँदै आए पनि तेहरानले भने आफ्नो कार्यक्रम विशुद्ध नागरिक र शान्तिपूर्ण उद्देश्यका लागि भएको दाबी गर्दै आएको छ।